बेलबारीस्थित बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ फेला
मिति: २०२३-०५-१५ , समय : १२:१९:२० , ourpradesh
मिति: २०२३-०५-१५ , समय : १२:१९:२० , ourpradesh
ourpradesh
मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण फेला परेको छ । फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए । ‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो,’ उनले भने ।
वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए । २५ लाखभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए। छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर देखिएको छैन । उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आउका छन् ।
बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडौँ पठाइएको बताए । रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्ने भए पनि प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने नले बताए ।
प्रकाशित मिति: २०२३-०५-१५ , समय : १२:१९:२० , २ वर्ष अगाडि