प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई

मिति: २०२३-०५-१५ , समय : १९:०२:२६ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर। सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।

आज औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गर्नु भएको थियो । मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताउनुभयो । उहाँले महानगरको कर्मचारी संयन्त्रलाई कोइरालाले चलायमान बनाउनुका साथै छोटो समयमा निकै महत्वपूर्ण काम गरेको स्मरण गर्नुभयो । उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सधैं सम्झिरहने बताउनुभयो ।

उहाँले वर्षौंदेखि हुन नसकेका कामहरु पछिल्लो ८ महिनामा भएको उल्लेख गर्नुभयो । कार्यपालिका सदस्यहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा कोइरालाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउनुभयो । कोइरालाले आफ्ना लागि विराटनगर घर भएको बताएको बताउनुभयो । उहाँले विराटनगरलाई आफूले कहिल्यै बिर्सन नसक्ने प्रस्ट पार्नुभयो । उहाँलाई कार्यपालिका सदस्य र कर्मचारीहरुले खादा र अविर लगाएर विदाई गरेका थिए । कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनु भएको छ । कोइराला ८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएको थियो ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ । पराजुलीलाई पनि मेयर कोइराला र उपमेयर कार्कीले खादा र माला लगाएर स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०५-१५ , समय : १९:०२:२६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित