कोशी मा मुख्यमन्त्री ले विश्वासको मत पाउला त
मिति: २०२३-०६-२८ , समय : २१:५०:४६ , our pradesh
मिति: २०२३-०६-२८ , समय : २१:५०:४६ , our pradesh
our pradesh
कोशीका मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । जेठ १७ मा जसपा र जेठ २३ मा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । ‘पास भएपनि फेल भएपनि विश्वासको मत माग्ने निर्णय भएको छ’, उनले भने, ‘प्रतिपक्षी दलहरुसँग विश्वासको मत माग्छौं ।’
विश्वासको मत पाउने वा नपाउने भन्ने प्रदेशसभाले निर्णय गर्ने बताउँदै उनले अगाडि नै मुख्यमन्त्रीले राजीनामा नदिने बताए । ‘विश्वासको मत माग्दा आफ्नो कुरा राख्न पाइन्छ, कन्भिन्स गर्ने अवसर हुन्छ’, उनले भने, ‘अगाडि राजीनामा आउदैन ।’ नेकपा एमाले संसदीय दलको बैठकले आफ्ना सांसदलाई बिहीबार दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेशसभा भवन अगाडि उपस्थित हुन निर्देशन पनि जारी गरेको उनले बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ । बिहीबार उनलाई बहुमत जुटाउन सकस छ । प्रतिपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको छ ।
कोशी प्रदेशमा ४० सिट रहेको एमाले र ६ सिटको राप्रपा हाल सरकारमा छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँछन् ।
प्रकाशित मिति: २०२३-०६-२८ , समय : २१:५०:४६ , २ वर्ष अगाडि