रंगेलीका विद्यार्थीलाई खाजाः जंकफुड नखुवाउन शिक्षा समन्वय इकाइको निर्देशन

आफ्नो उद्योगबाट उत्पादित ‘चिजबल’ विद्यार्थीलाई खुवाइँदै, आफ्नै उद्योगको उत्पादन खुवाउन नपाउने भएपछि गर्भवती सुत्केरी पोषण कार्यक्रम नगर प्रमुख बगडियाद्वारा रद्ध

मिति: २०२३-०७-१८ , समय : १८:२६:०४ , ourpradesh

ourpradesh

विराटनगर । मोरङको रंगेली नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्कफुड दिने गरेको सार्वजनिक भएको बेला जिल्ला शिक्षा समन्वय इकाई मोरङले त्यसलाई रोक्न निर्देशन दिएको छ ।

गत असार २० गते गरेको अनुगमनका क्रममा रंगेली ६ मा रहेको पब्लिक माध्यामिक विद्यालयले विद्यार्थीलाई खाजामा जङ्क फुड खुवाउने गरेको भेटिएको थियो ।

जिल्ला शिक्षा समन्वय इकाइ मोरङका सूचना अधिकारी शिवप्रसाद घिमिरेका अनुसार विद्यालयमा दालमोठमा चिउरा र भुजिया मिसाएको एउटा प्याकेट र अर्को चिजबलजस्तो प्याकेट खाजामा प्रयोग गरेको भेटिएको जानकारी दिए । त्यस्तो खाजाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै विद्यालयलाई सचेत गराएको उनको भनाइ छ ।

समन्वय इकाइका प्रमुख टंकप्रसाद गौतमको नेतृत्वमा पुगेको टोलीले विद्यालयका प्रधानाध्यापक विरेन्द्रकुमार साहसमेतको सहभागितामा बैठक बसी आगामी दिनमा खाजामा जंकफुड नराख्ने निर्णय गरेको छ । अनुगमन टोलीले विद्यालय हाताभित्रै खाजाको तयारी गरी विद्यार्थीलाई उपलब्ध गराउन दिर्नेशन दिएको छ ।

‘दिवा खाजा कार्यक्रम विभिन्न प्याकेट बन्द सामाग्री प्रयोग भएको पाइयो । विद्यार्थी स्वास्थ्यलाई मुख्य मानी तयारी त्यस्ता सामग्री प्रयोग नगर्ने र स्थानीय स्तरमा प्राप्त हुने उत्पादनलाई प्राथमिकता दिई दैनिक अलगअलग मेनु तयार गरी विद्यालय हाताभित्रै तयारी गराई खाजाको प्रबन्ध गर्न विद्यालयको सबै सरोकारवालाको ध्यानाकर्षण गर्दछौं । विद्यालयले अविलम्ब सो व्यवस्थापन गर्न निर्देशन दिइएको छ,’ समितिले दिएको निर्देशनमा उल्लेख छ । विद्यालयका प्रधानाध्यापक यादवले आफूहरुले यसअघि नै खरिद गरिसकेको कारण उक्त प्याकेटहरु नसकिएसम्म त्यही प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

‘हामीले खाजामा प्याकेट किनिसकेका थियौं, त्यो सकिएपछि अर्को खरिद गर्छौंं,’ उनले भने । रंगेलीकै ठुलो विद्यालय पब्लिक स्कुलमा ६ कक्षा मुनि अध्ययन गर्ने ४ सय विद्यार्थी छन् ।

रंगेलीका सबै सामुदायिक विद्यालयलाई यस्तै खाजा खुवाइने गरेको छ ।नगरप्रमुख दिलिपकुमार बगडिया (अग्रवाल)को परिवारका सदस्यले सञ्चालन गर्ने स्वास्थ्य फुड इन्ड्रष्ट्रिज प्रा.लि.बाट उत्पादित जंकफुड विद्यार्थीलाई खाजाको रुपमा दिने गरिएको हो ।

उद्योगले चिउरा, भुजिया दालमोठ तथा अन्य जङ्कफुड उत्पादन गर्छ । खाद्यविज्ञहरुले प्याकेटका खानेकुराहरुलाई पत्रु खाना भन्दै बालाबालिकाको स्वास्थ्यका लागि हानिकारक हुने बताउँदै आएका छन् ।रंगेली नगरपालिकाभित्र २९ वटा सामुदायिक विद्यालय र ४ वटा मदरसामा अग्रवालकै उद्योगबाट उत्पादन भएको खाजा प्रयोग हुन्छ ।

‘मेयर सा’वको स्वार्थका अघि हाम्रा विद्यार्थीको स्वास्थ्य र पोषणको कुरा गौण भएको छ’, रंगेलीको एक विद्यालयका प्रधानाध्यापकले भने ‘हरेक दिन एकै खालको प्याकेटको खाजा खान विद्यार्थी बाध्य छन् ।’ उनका अनुसार सरकारले नगरपालिकामार्फत विद्यार्थीलाई ताजा र पोषिलो खानेकुरा खुवाउनु भनेर विद्यार्थीको टाउको गनेर पैसा दिएको हुन्छ । तर, विद्यार्थीले मेयरको फ्याक्ट्रीको उत्पादन खानैपर्ने बाध्यता छ । त्यो नखाए विद्यालयको बजेट कटौती हुनेदेखि अन्य समस्या नगरपालिकामा झेल्नुपर्ने अवस्था रहेको शिक्षकहरु बताउँछन् ।

खाजाको रकम नेपाल सरकारले नगरपालिकामार्फत पठाउँछ । मेयर बगडियाको दबाबमा विद्यालयका प्रधानाध्यापकहरुको नगरपालिकामै बैठक राखेर उनकै उद्योगको खाजा खरिद गर्ने निर्णय गराएको स्रोतको दावी छ ।

चालु आर्थिक वर्षमा रंगेलीले विद्यार्थीहरुलाई ९० लाख ८४ हजार ५ सय २५ रुपैयाँको दिवा खाजा खुवाएको तथ्यांक नगरपालिकाको शिक्षा शाखासँग छ । यो सबै पैसाको खाजा प्रमुख बगडियाकै उद्योगमा गएको छ । ‘विद्यार्थीको लागि ल्याएको खाजा ठूला मान्छेले पनि खान सकिँदैन,’ एक शिक्षकले भने ‘हामीले पटक पटक विद्यार्थीले यस्तो खाजा खान सकेनन् भन्दा मेयरसावले नै यो भन्दा पोषिलो अरू पालिकाले पनि खुवाएका छैनन् भनेर भन्नुभयो ।’ बगडियाले प्रधानाध्यापकहरुको बैठकमा खाजाको विषयमा कुरा नउठाउन चेतावनीसमेत दिने गरेका छन् ।

गत आर्थिक वर्षमा नगरपालिकाले विद्यार्थी खाजाका लागि ठेक्का लगाएको थियो । स्वास्थ्य फुड इन्ड्रस्टिजसहित अन्य केही कम्पनीले टेन्डर हालेका थिए । त्यति बेला उनका भाइ र छोराको नाममा रहेको स्वास्थ्य फुड इन्ड्रष्ट्रिजले ठेक्का पाउन सकेन । अर्कै कम्पनीले कम दररेटमा ठेक्का पारेपछि नगर प्रमुख बगडियाले पाोषिलो नभएको भन्दै ठेक्का रद्द गर्न लगाएका थिए । त्यसपछि आफ्नै उद्योगबाट सोझै खरिद गर्न विद्यालयहरुलाई बाध्य पारियो ।

ताजा र स्थानीय उत्पादन विद्यार्थीलाई खाजामा खुवाउन भनेर संघीय सरकारले स्थानीय तहमार्फत प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले खाजाको पैसा उपलब्ध गराउँछ । मापदण्डमा दैनिक फरक मेनुमा सकेसम्म स्थानीय उत्पादनलाई खाजाको रुपमा खुवाउनुपर्ने व्यवस्था छ ।

नगर प्रमुख बगडियाले भने विद्यालयले खाजा खरिद गरेको विषयमा आफूले केही नभन्ने बताएका छन् । उनले आफ्नो बारेमा समाचार लेखेर केहि नहुने भन्दै भेटेर थप कुरा गर्ने बताए ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : १८:२६:०४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित