साम्प्रदायिक हिंसाको चपेटामा मणिपुर: महिलामाथि सामूहिक बलात्कार, निर्वस्त्र गाउँ डुलाइयो
मिति: २०२३-०७-२० , समय : १६:२४:०५ , ourpradesh
मिति: २०२३-०७-२० , समय : १६:२४:०५ , ourpradesh
ourpradesh
भारतको मणिपुरमा दुई महिलामाथि क्रुर र अमानवीय हिंसा गरिएको छ । उनीहरूलाई निर्वस्त्र पारेर गाउँ डुलाइएको हो भने सामूहिक बलात्कारसमेत गरिएको छ । पछिल्लो समय मेइती र कुकी समुदायबीच भइरहेको साम्प्रदायिक हिंसाबीच दुई महिलामाथि जघन्य अपराध गरेको भिडियोसमेत सामाजिक सञ्जालमा बाहिरिएको हो । भिडिओमा दुई कुकी महिलामाथि सामूहिक बलात्कार भएको छ ।
युवाहरूको ठूलो भिडले ती महिलालाई निर्वस्त्र बनाएर गाउँ डुलाइरहेको देख्न सकिन्छ। भारतीय प्रहरीले भिडिओको पुष्टि गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार घटना ४ मेको हो । मणिपुरको थौबल जिल्लामा ती महिला यौन दुर्व्यवहारको सिकार भएको प्रहरीले बताएको छ। मणिपुर प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको जनाएको छ ।
भिडिओमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको समाचारमा उल्लेख छ। भिडिओमा दुईजना महिला मात्रै देखिन्छन् । तर भीडले ५० वर्षीया महिलालाई पनि निर्वस्त्र पारेर दुर्व्यवहार गरेको समाचारमा जनाइएको छ ।
पीडितहरूले प्रहरीमा उजुरीसमेत दिएका छन् । उजुरीमा महिलालाई सामूहिक बलात्कार गरेर हत्या गरेको उल्लेख छ। महिलाका १९ वर्षीय भाइले बचाउन खोज्दा उनको पनि हत्या गरिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको घटना हृदय विदारक रहेको बताएका छन् । मोदीले उक्त घटनाले देशको बेइज्जत भइरहेको बताएका हुन् । उनले दोषीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् । ‘मणिपुरमा भएको घटनाले १४० करोड भारतीयलाई लज्जा भएको छ। म सबै देशवासीलाई आश्वस्त पार्न चाहन्छु, यसमा संलग्न कसैले पनि छुट पाउने छैनन्,’ उनले भने।
भारतको सर्वोच्च अदालतले यसबारे राज्य र केन्द्र सरकारसँग जवाफ मागेको छ । भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले यस घटनालाई ‘संविधानको चरम दुरुपयोग’ भनेका छन् । उनले सरकारले कदम नचाले अदालतले चाल्ने पनि बताएका छन् ।
मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषीलाई फाँसीको सजाय दिलाउन कोसिस गरिने बताएका छन् । उनले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताएका छन् ।
महिला संगठनले विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मणिपुरका पाँच जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।
भारतको पूर्वोत्तर राज्य मणिपुर साढे दुई महिनादेखि हिंसाको चपेटामा परेको छ । पूर्वतिर म्यानमारसँग जोडिएको मणिपुरमा गत मे देखि हिंसाको चक्र लगातार दोहोरिरहेको छ । हिंसामा परेर १५० जनाको ज्यान गइसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हजारौँ आगजनीका घटना भएका छन् ।
कयौँ मानिसहरू विस्थापित भएका छन् । मणिपुरमा हिंसाको पछिल्लो श्रृंखलामा जातीय द्वन्द्व जोडिएको छ । मणिपुरमा विगत साढे दुई महिनामा दुई समुदायबीच हिंसात्मक गतिविधि भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०७-२० , समय : १६:२४:०५ , २ वर्ष अगाडि