शेखर कोइराला : नयाँ सरकार बनाउनुपर्ने देश को अहिलेको आवश्यक
मिति: २०२३-१२-१५ , समय : २२:४४:४१ , Our Pradesh
मिति: २०२३-१२-१५ , समय : २२:४४:४१ , Our Pradesh
Our Pradesh
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुशासन दिन नसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी नेतृत्वको वर्तमान सरकारले सुशासन दिन नसक्ने भन्दै अब सरकार परिवर्तन गर्नुमा जोड दिए । नेता कोइरालाले सुशासनका लागि आफ्नै पार्टी कांग्रेस नेतृत्वको सरकार हुनुपर्ने दाबी गरे ।
जनतामा आशा जगाउने खालको सरकार आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो । ‘जताततै बेतिथि मौलाएको छ, भ्रष्टाचार बढेको छ । यसैले वर्तमान सरकारसँग जनता निराश भएका छन्,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’
सो अवसरमा नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भइरहेको भन्दै चिन्तासमेत व्यक्त गरे । आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको भए पनि अहिले त्यो सम्भव नभएकोतर्फ नेता कोइरालाले संकेत गरे ।
‘लोकतन्त्रमा अंकको खेल महत्वपूर्ण हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन,’ उनले भने, ‘तर प्रयास गरिरहेका छौँ ।’ सुशासनसहितको राष्ट्र निर्माणका लागि पार्टीभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था भने सिर्जना भएको उनले बताए ।
नेकपा (एमाले)को संकल्प यात्राका क्रममा धनकुटाको लेगुवाघाटमा अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणको विषयमा पनि नेता कोइरालाले धारणा राखे । उनले पहिचानवादीहरू अराजक हुँदै गएको बताए । पहिचान पक्षधरहरूलाई सरकारसँग बसेर वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि उनले सुझाव दिए ।
प्रकाशित मिति: २०२३-१२-१५ , समय : २२:४४:४१ , १ वर्ष अगाडि