मेयरको हत्या गर्न भारतीय सुटरलाई ३६ लाखको सुपारी

मिति: २०२४-०२-१४ , समय : ०९:५०:०४ , Our Pradesh

Our Pradesh

रौतहट । गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न भारतीय सुटरलाई सुपारी दिएको रहस्य खुलेको छ। भारत सरकारको मोस्ट वान्टेड सूचीमा रहेर नेपालमा समेत कैयौँ घटनामा संलग्न रहेका कुख्यात भारतीय अपराधी सुटर चञ्चल पाण्डेलाई हत्याका लागि सुपारी दिइएको हो।

पाण्डेलाई नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको छ। बारा कलैयास्थित बाल एकता बोर्डिङका सञ्चालक रुपेश सर्राफको हत्यामा संलग्न भारतीय सुटर सुजित सिंह पक्राउ परेपछि गौरका मेयर साहको पनि हत्या गर्ने योजनाबारे प्रकाशमा आएको थियो। सिंहले नै प्रहरी समक्ष कुख्यात अपराधी चञ्चल पाण्डेले मेयर साहको हत्या गर्न सुपारी लिएको बताएको प्रहरी स्रोत ले जनाएको छ।बोर्डिङ सञ्चालक रुपेशको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह पक्राउ परेको र यसको योजनाकार चञ्चल पाण्डे देखिएपछि प्रहरीले खोजी थालेको थियो। प्रहरी स्रोतका अनुसार भारतीय कुख्यात अपराधी पाण्डेले मेयर साहको हत्या गर्न ३६ लाखमा फाइनल गरेर १८ लाख रुपैयाँ लिइसकेको पक्राउ परेका सुटर सुजित सिंहले बताएका थिए।

स्रोतका अनुसार नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले भारतको बंगालस्थित कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा चञ्चल पाण्डे, मनिष सिंह र अर्का एक जनालाई गत पुस १० गते पक्राउ गरेको थियो। उनीहरूलाई ल्याउने क्रममा मुख्य आरोपी पाण्डे रेलबाट हामफालेर भागेका थिए।

प्रकाशित मिति: २०२४-०२-१४ , समय : ०९:५०:०४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित