सरसफाई अभियान ब्यानरमा मात्रै सिमित हुने त होइन ?

प्रशान्त बस्नेत (झापा )

मिति: २०२४-०६-२८ , समय : २१:५४:५० , Our Pradesh

Our Pradesh

सरसफाई अभियान ब्यानरमा मात्रै सिमित हुने त होइन ? 

आफू सफासुग्घर हुने र आफू बसेको घर सधैं सफा राख्ने गर्छौ । यसै गरि वेलावखत टोल, मठमन्दिर, सार्वजनिक स्थल बजार आदितिर विभिन्न कार्यक्रम गरी सरसफाई अभियान गरिने गरेको पनि देखिएको नै छ । विभिन्न स्थानीय तह, संघसंस्था, क्लब आदिद्वारा समेत विभिन्न उत्सव र अवसरमा सरसफाईका क्रियाहरु हुने गरका नै छन । 

घरमा आमाबुबाले छोराछोरीलाई सरसफाई गर्नुपर्छ भनेर सिकाउने , विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई जथाभावी फोहोरमैला फाल्नु हुँदैन भन्ने जस्ता अर्ति उपदेशहरु दिने साथै विद्यालयको प्राङ्गणमा भएको फोहोरमैला समेत विद्यार्थीहरुलाई संकलन गर्न लगाइने गरिन्छ ।

जैविक फोहरहरुको उपयोग गर्न सके फोहरवाट मोहर कमाउने सकिने भन्दै विद्यालयमा कुहिने र नकुहिने फोहोरमैला वर्गीकरण गर्ने कुहिनेवाट मल बनाउने शिप समेत प्रदान गरिन्छ । बातावरणीय सुरक्षा र सम्वेदनशिलतालाई ख्यालमा राख्दै समग्र देशमा नै फोहोरमैला संकलन र ब्यवस्थापनमा धेरै धनराशी खर्च गरेको पाइन्छ ।

यसै गरि फोहरमैला एकत्रित गर्नका लागि र जथाभावी फोहोरमैला नहोस भन्नका लागि विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन गरिने र ठाउँ ठाउँमा डस्टविनहरु राखिने कार्यहरु पनि गरेको पाइन्छ । यसै गरि पार्क, विद्यालय, बाटोघाटो, गाडीको यात्रा गर्दा होस् या आर्यघाटमा डस्टविन राखेको देखिन्छ ।

फोहर मैला मानिसले उत्पादन गर्ने र त्यसको ब्यवस्थापन मानिसले नै गर्ने भएको भएपनि किन मानिसहरु फोहमैला ब्यवस्थापन प्रतिको आफ्नो दायित्व ठान्दैनन । राखिएका डस्टविन हरुमा फोहर राख्नुको अलावा डस्टविनको छेउमा नै फोहर फ्याक्ने कार्यहरु गर्दा हरेकले आफैले आफैलाई प्रश्न गर्ने कार्यको सुरुआत आजको आवश्यकता भएको छ ।   

फोहर मैला ब्यवस्थापन प्रतिको आफ्नो कर्तब्य सम्झदै यात्रा गर्दा गाडीमा खाएका खानेकुराका खोल र बोक्रा वा अन्य निस्किएका फोहोर कसरी राख्ने गरेका छौँ ख्याल गर्ने , गाडीमा भएको डस्टविनको प्रयोग गर्ने गाडीको झ्यालबाट फोहर नफाल्ने कार्यहरु गर्दा आफ्नो जिम्वेवारी पुरा हुन्छ । 

प्लास्टिक हामी सबैको लागि सजिलो भएपििन वातावरण ध्वस्त पार्नको लागि यो कारण भएको छ । प्लास्टिकमा प्याक भएका मधुगुट्का खाएर जथाभावी फाल्ने भन्दा गोजीमा राखेर सम्बन्धी ठाउँमा किन नराख्ने ? 

हामी हरेकले सानो मात्र सावधानी र जिम्वेवारी पुरा गर्ने हो भने फोहर मैला ब्यवस्थापनमा सरकारको ठुलो धनराशी खर्चमा कमी हुन गई उक्त रकम अन्य कार्यमा खर्च गर्न सकिन्छ । सभ्य समाजको परिचय वन्न सक्छ । 

हामी विभिन्न ठाउँमा, सभासमारोहमा जाँदा आफुलाई शिक्षित वर्ग भन्नेले पनि यसप्रति चासो राखेको पाइँदैन। हामीले किताब त पढाउँयौ या पढौ तर मानसपटलबाट आफू बसेको जुनसुकै ठाउँमा सफा गर्ने पहिलो दायित्व मेरै हो भनेर त्यो किताबबाट थाहा नै भएन । मानौं कुनै साधारण सभामा जाँदा कोट पेन्टमा नमस्कार भन्दै जान्छौ। कार्यक्रममा चिया खाजापानी पनि खान्छौ तर खाएर त्यही बसेको ठाउँमा जथाभावी फोहर फ्याकेर हिंडने कार्यले हामी कसरी समाज सफा गर्न सक्छौं ? त्यो हामीले खाएर निस्किएको बोक्रा, खोल बोतल आदि डस्टविनमा राख्ने जिम्मेवारी आफ्नो पनि होला नि ? विभिन्न राजनीतिक दल, भातृसंगठन, संघसंस्था, क्लब, विद्यालय आदिहरुले सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन गर्छौ । यो सब केको लागि हो? सामाजिक सञ्जालमा फोटो हाल्न या लोकपृयता कमाउन मात्रै हो वा पैसा लुट्न ?

शिक्षित समुदाय, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाहरुका पदाधिकारी, समाजसेवी, पत्रकार, स्थानीय तहका पदाधिकारी आदिहरुले यो मैंले गरेको फोहोर व्यवस्थापन गर्ने मेरै जिम्मेबारी भनेर बोध गरौ र आफूले लागु गरेपछि आफ्नो नजिकको साथीलाई सम्झाउँ । जसले गर्दा राज्यको लागत कटौती र समय वचत हुनेछ। सरसफाई अभियान आफैंबाट सुरुआत हुन्छ ना कि ब्यानर टाँगेर ।

धन्यवाद ।

प्रकाशित मिति: २०२४-०६-२८ , समय : २१:५४:५० , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्