मानव बेचबिखन र यौन शोषण आरोपमा रङ्गेलीका अधिकारी पक्राउ

मिति: २०२४-०७-१८ , समय : ०९:१९:४६ , Our Pradesh

Our Pradesh

मानव बेचबिखन र यौन शोषण गरेको आरोपमा अधिकारी पक्राउ

 

विराटनगर,भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको जनाइएको छ । उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लिएका थिए।

लागत खर्च भनी महिलाबाट दुई लाख नगद लिएका अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएर अर्का व्यक्तिको जिम्मा लगाएको खुलेको छ। समाचार अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए। उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतन समेत गराएको खुलेको छ।

त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याएर अर्का एजेन्टको जिम्मा लगाएका थिए।

त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेकोले सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरिन्।

रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिए। त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन्।

अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: २०२४-०७-१८ , समय : ०९:१९:४६ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित