कोशी प्रदेश नामाकरण खारेजीको माग प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप

मिति: २०२३-०३-२८ , समय : १६:४१:११ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर।विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच आज दिउँसो झडप भएको छ ।

विराटनगरको विग होटेलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते भएका छन् ।

झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएको मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । यता आन्दोलनकारी तर्फ पनि ९ जना घाइते भएको बताइएको छ । आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।

 

 

प्रकाशित मिति: २०२३-०३-२८ , समय : १६:४१:११ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित