आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

मिति: २०२४-०७-२१ , समय : ०८:२३:४८ , Our Pradesh

Our Pradesh

आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरुपूर्णिमा पर्व मनाइँदैछ, जहाँ गायत्री मन्त्र, वेद मन्त्र सुनेर र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकहरूमा उल्लेख गरिएको छ।

 

जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई गुरु भनिन्छ। हाम्रो शास्त्रले गुरुलाई ब्रह्मा, विष्णु, र महेश्वरका रुपमा मानेको छ। यसैले विभिन्न ग्रन्थहरूमा यसो भनिएको पाइन्छ:

 

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।

गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।।

 

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरुपूर्णिमाका अवसरमा विभिन्न विद्यालय र संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्छन्।

आजै, वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ, जसले वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए। आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएका थिए, त्यसैले यस दिन व्यास जयन्ती मनाइन्छ।

 

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिएका छन्:

 

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।

परोपकार पुण्याय, पापाय परपीडनम्’।।

अर्थात्, अरुको उपकार गरे धर्म हुन्छ र अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्चौँ

वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्। आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय, र संघसंस्थाले विभिन्न कार्यक्रम गरी गुरुपूर्णिमा मनाउँदैछन्।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : ०८:२३:४८ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्