कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ

मिति: २०२४-०७-२७ , समय : ११:३१:३२ , Our Pradesh

Our Pradesh

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ — माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। यद्यपि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको एमाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार, “हामीले सरकार मात्रै छाडेका हौं, एमालेलाई दिएको समर्थन फिर्ता लिएका छैनौं।”कोशी प्रदेशसभामा माओवादीका १३ सांसद छन्। माओवादीले कांग्रेसको साथ छाडेर अचानक एमालेसँग गठबन्धन गरेपछि गत वैशाख २७ गते संविधानको धारा १६८ (५) बमोजिम एमालेको नेतृत्वमा सरकार गठन भएको थियो। तर, एमालेले गत महिना कांग्रेससँग नयाँ समीकरण बनाएपछि माओवादी प्रदेश सरकारबाट बाहिरिन बाध्य भएको हो। माओवादीका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन्।आएको

माओवादीका गणेश उप्रेती भौतिक पूर्वाधार, नारायणबहादुर मगर वन, वातावरण तथा पर्यटन, राजेन्द्र कार्की स्वास्थ्यमन्त्री थिए भने बन्दना झाँगड वन, वातावरण तथा पर्यटन राज्यमन्त्री थिइन्।माओवादी बाहिरिएपछि सरकारमा कांग्रेस प्रवेश गर्नेछ। तर कसको नेतृत्वमा सरकारमा सामेल हुने भन्नेबारे कांग्रेसले अझै टुंगो लगाएको छैन।

 

कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन एमालेसँग शुक्रबार छलफल सुरु भएको जानकारी दिएका छन्। कांग्रेसमा मन्त्रीका आकांक्षीहरू धेरै छन्, त्यसमाथि संस्थापन पक्ष, शेखर कोइराला र कृष्णप्रसाद सिटौलाको समूहबीच भागबन्डा गुट मिलाउनुपर्नेछ। सांसद अमृत आर्याल या भीम पराजुलीमध्ये एकको नेतृत्वमा कांग्रेस सरकारमा सामेल हुन सक्ने जनाइएको छ।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : ११:३१:३२ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित