यी तीन विद्यार्थी नेता जसले शेख हसिना सरकार ढाल्न सफल भए

मिति: २०२४-०८-०६ , समय : ११:५३:४८ , Our Pradesh

Our Pradesh

शेख हसिनाको राजीनामा र बंगलादेशको विद्यार्थी आन्दोलन

 

ढाका: शेख हसिना ४५ दिनपछि ५ अगस्टमा फेरि भारत पुगेकी थिइन्। यसअघि २१ जुनमा भारत आउँदा प्रधानमन्त्री मोदीले उनलाई रेड कार्पेटमा स्वागत गरेका थिए। यसपटक भने उनी बंगलादेशबाट भागेर शरण लिन भारत गएकी हुन्।

 

शेख हसिना यसपटक भारत पुग्दा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। बंगलादेशको प्रधानमन्त्री कार्यालयमा आन्दोलनकारी विद्यार्थीले कब्जा गरेका थिए। यसरी हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने प्रमुख तीन विद्यार्थी नेता रहेको दैनिक भास्करमा उल्लेख छ। उनीहरूले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका हुन्।

नाहिद इस्लाम: विद्यार्थी आन्दोलनको मुख्य पात्र

FILE PHOTO: Asif Mahmud, Nahid Islam, and Abu Bakar Majumder, student leaders who spearheaded a movement against job quotas that turned into a call for Prime Minister Sheikh Hasina to resign, issue a statement in Dhaka, Bangladesh, in this screengrab from a social media video released on August 6, 2024. Asif Mahmud Via Facebook/via REUTERS/File Photo

नाहिद इस्लामलाई हाल बंगलादेशको विद्यार्थी आन्दोलनको सबैभन्दा मुख्य पात्र मानिन्छ। उनले आइतबार विज्ञप्ति निकालेर भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ। प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन्। अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने कि पदमा रहन रक्तपातको सहारा लिने।’

 

इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन्। उनले प्रहरीले आफूलाई जुलाइ २० बिहान पक्राउ गरेको आरोप लगाएका थिए। प्रहरीले भने यसलाई अस्वीकार गरेको छ। सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा वर्दी लगाएका केही व्यक्तिहरूले इस्लामलाई कारमा राखेको देखिन्छ। विद्यार्थी नेता इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि अचेत अवस्थामा फेला परेका थिए। बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनको आरोप छ।

आसिफ महमूद: यातना सहेर पनि चुप लागेनन्

आसिफ महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जूनमा सुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको प्रमुख हिस्सा बनेका छन्। असिफ महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए। उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा लगिएको हो। आसिफलाई सुरक्षाको कारण हिरासतमा राखिएको बताइयो।

विद्यार्थीको गिरफ्तारीको विरोधमा अगस्ट १ मा भएको प्रदर्शनपछि उनीहरुलाई हिरासतबाट रिहा गरियो। अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरेका थिए। शेख हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि बयान दिंदै देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने सञ्चारकर्मीलाई बताएका छन्।

 

अबु बकर मजुमदार: कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब

अबु बकर मजुमदार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने तीन विद्यार्थी नेताहरूमध्ये एक हुन्। अबु बकर मजुमदार ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन्। उनी नागरिक अधिकार र मानव अधिकारको विषयमा पनि काम गर्छन्।

 

अबु बकरलाई जुलाई १९ को साँझ धनमण्डी इलाकाबाट केही व्यक्तिले लगेका थिए। त्यसपछि केही दिनसम्म उनी बेपत्ता भए। दुई दिनपछि उनलाई जहाँबाट लगिएको थियो त्यही सडकमा छाडियो। पछि अबुले सञ्चारमाध्यमलाई प्रहरीले आफूलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताएका थिए। अस्वीकार गर्दा उनलाई कुटपिट गरिएको उनको आरोप छ।

 

तीन विद्यार्थी नेताहरूको आन्दोलनले शेख हसिनाको १५ वर्षको शासनलाई अन्त्य गरिदियो।

प्रकाशित मिति: २०२४-०८-०६ , समय : ११:५३:४८ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्