नागपञ्चमी पर्व: घर-घरमा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदै

मिति: २०२४-०८-०९ , समय : ०९:१२:२७ , Our Pradesh

Our Pradesh

नागपञ्चमी पर्व: घर-घरमा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदै

काठमाडौं – आज देशभरका हिन्दू समुदायले परम्परागत रुपमा नागपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरका मूलढोकामा नागको तस्वीर टाँसी, विशेष पूजाआजा गरिन्छ। धार्मिक मान्यताअनुसार नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ, र चट्याङको भयबाट पनि सुरक्षा पाइने विश्वास छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ र नाग रिसाएमा पानीको अभाव हुने भएकाले पानीका लागि नागलाई खुशी पार्न पूजा गरिन्छ। वराहपुराणमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि विशेष मानिन्छ।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलका अनुसार उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिन्छ। काठमाडौंका नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नागस्थानमा आज विशेष पूजाआजा गरी नागको सम्मानमा गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत प्रसाद चढाइने गरिन्छ।

 

वैदिक सनातनकालदेखि नै नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग पुराणहरूमा वर्णन गरिएको छ भने विष्णुको नवौं अवतार बुद्धको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति देखिन्छ।

 

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्। नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक, र शङ्ख गरी अष्टनागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्न नहुने धार्मिक मान्यता पनि रहेको छ। घरमा नागको पूजा गर्दा लक्ष्मीको वास हुने र घरमा समृद्धि र शान्ति कायम रहने विश्वासले यो पर्वलाई महत्त्वपूर्ण बनाएको छ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : ०९:१२:२७ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्