जनैपूर्णिमा र रक्षाबन्धन पर्व आज देशभर मनाइँदै
मिति: २०२४-०८-१९ , समय : ०८:०७:०६ , Our Pradesh
मिति: २०२४-०८-१९ , समय : ०८:०७:०६ , Our Pradesh
Our Pradesh
जनैपूर्णिमा र रक्षाबन्धन पर्व आज देशभर मनाइँदै
काठमाडौं – आज देशभर श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन र जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व मनाइँदै छ। यस अवसरमा वैदिक सनातन धर्मावलम्बीहरू बिहानैदेखि नदी, ताल, पोखरीमा स्नान गरी नवयज्ञोपवीत जनै र रक्षाबन्धन धारण गर्छन्।
रक्षाबन्धनको वैदिक परम्परा अनुसार गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँध्ने चलन छ। यसरी रक्षाबन्धन धारण गरेमा नकारात्मक शक्तिहरूबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिले मुलुकका विशिष्ट व्यक्तिहरूले भद्रा कटाइ आज दिनको १:३१ बजेपछि मात्र रक्षाबन्धनको कर्म गर्नु उपयुक्त हुने बताएको छ।
सत्ययुगमा दानवराज बलिसहित देवगणलाई रक्षाबन्धनद्वारा सुरक्षित बनाइएको पौराणिक मान्यता छ, जसले रक्षाबन्धन परम्परालाई निरन्तरता दिएको छ।
यसै दिन तीन वर्णका तागाधारीहरूले आफ्नो जनै फेर्नुपर्ने विधान पनि शास्त्रमा उल्लेख छ। व्रत बसेर पूर्णिमाको दिन पोखरी, नदीमा स्नान गरी मन्त्रिएको नयाँ जनै फेरिन्छ। साथै, अरुन्धतीसहित आठ ऋषिलाई पूजा गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ।
जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागो पनि भनिन्छ। आजको दिन पशुपतिनाथ मन्दिर, वसन्तपुर, वाग्मती नदी किनार र अन्य मठमन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ।
क्वाँटी खाने परम्परा
जनैपूर्णिमाको दिन ११ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाइन्छ, जसले शरीरलाई रोगबाट बचाउने र शरीरमा तापको सञ्चार गर्ने मान्यता छ। तराई क्षेत्रमा आजकै दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर प्रेमसम्बन्ध बलियो बनाउने परम्परा छ।
काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, र अन्य स्थानमा आजको दिन मेला लाग्ने गर्छ। जनैपूर्णिमाको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रकाशित मिति: २०२४-०८-१९ , समय : ०८:०७:०६ , ८ महिना अगाडि