एमाले मोरङद्वारा विराटनगर महानगरको विकासमा ध्यानाकर्षण

नेकपा एमाले मोरङले विराटनगर महानगरपालिकालाई विकास निर्माणमा ध्यान केन्द्रित गर्न औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ। एमाले मोरङले महानगरपालिकाले निर्वाचित भएको २ वर्ष ५ महिना बितिसक्दा पनि अपेक्षित विकास कार्यहरू गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

मिति: २०२४-०९-१३ , समय : ०७:४७:०६ , Our Pradesh

Our Pradesh

विराटनगर –  एमाले मोरङले विराटनगर महानगरपालिकालाई विकास निर्माणमा ध्यान केन्द्रित गर्न औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ। एमाले मोरङले महानगरपालिकाले निर्वाचित भएको २ वर्ष ५ महिना बितिसक्दा पनि अपेक्षित विकास कार्यहरू गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

पछिल्लो समयमा महानगर प्रमुख नागेश कोइराला अन्य स्थानीय तह र सरकार विरुद्ध पार्टीले थालेका विरोध कार्यक्रममा सक्रिय हुँदै गएपछि, विकासका कार्यहरूमा शिथिलता आएको आरोप एमाले मोरङले लगाएको छ। एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले विकासका मुद्दामा ठोस र दीर्घकालीन योजना नहुँदा विराटनगरवासी असन्तुष्ट रहेको बताए। उनले सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक, सवारी पार्किङ व्यवस्थापन, र सीमा नाकाबाट सामानको आयातमा रोकजस्ता निर्णयहरूमा कार्यान्वयन गर्न नसकेको भन्दै महानगर नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।

एमालेले विराटनगरको विकासमा ढिलाइ भएको भन्दै फोहरमैलाको उचित व्यवस्थापन, नगर बसको सञ्चालन, र अधुरा योजनाहरू पूरा गर्न माग गरेको छ। साथै, खेलकुद प्रवद्र्धनका लागि नगर खेलकुद विकास समिति गठन गर्नुपर्ने, ढल निकासको समस्या समाधान गर्नुपर्ने, र विकास योजनाहरूमा समयसीमा पालना गर्नुपर्नेमा पनि जोड दिएको छ।

महानगर प्रमुख नागेश कोइरालाले बजेट अभावका कारण विकास कार्यहरू प्रभावित भएको बताउँदै, प्रदेश र संघीय सरकारसँग बजेटको लागि पहल भइरहेको जानकारी गराए।

ध्यानाकर्षण कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामलाल साह, मोरङ क्षेत्र नं. ६ इन्चार्ज पर्शुराम वस्नेत, मोरङ सचिव रविन थापा लगायत नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : ०७:४७:०६ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्