मोरङ: सहकारी ठगी प्रकरणमा एमाले सांसद पोखरेलकी पत्नीको संलग्नता, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालाको संलग्नतामा रहेको धनपालथान गाउँपालिका–४ स्थित श्री उमागौरी कृषि सहकारी संस्थामा ठगीको आरोपमा प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

मिति: २०२४-११-०७ , समय : ०१:१६:११ , Our Pradesh

Our Pradesh

मोरङ, नेपाल — नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालाको संलग्नतामा रहेको धनपालथान गाउँपालिका–४ स्थित श्री उमागौरी कृषि सहकारी संस्थामा ठगीको आरोपमा प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सहकारीको बचत अपचलन मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको हो। यस सहकारीमा सर्वसाधारणको बचत र ऋण अपचलन भएपछि कार्यालय बन्द गरिएको थियो।

गत कात्तिक १४ गते, सहकारीका सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग भएपछि प्रहरीले कार्यालयको ताला फुटाएर कागजात नियन्त्रणमा लिएको थियो। यस घटनामा कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका कर्मचारीहरूको संलग्नतासमेत रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

सहकारी संकट उत्पन्न भएपछि पोखरेलकी पत्नी अञ्जला कोइरालाले २०७८ माघ ५ गते संस्थाबाट राजीनामा दिएकी थिइन्। तर, सहकारीको सन्दर्भमा लिएको ऋण नतिरेका कारण अञ्जला र अन्य सञ्चालकहरूलाई लघुवित्त संस्थाले कालोसूचीमा राखेको थियो। यस कालोसूची विरुद्ध कोइरालाले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन्, जसको सुनुवाई अझै अदालतमा चलिरहेको छ।

स्थानीयहरूका अनुसार सहकारी स्थापना गर्दा पोखरेलको सल्लाहमा र नजिकका व्यक्ति शम्भुप्रसाद रौनियार अध्यक्ष नियुक्त भएका थिए। रौनियारले पोखरेलको सल्लाह अनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण मिलाएको आरोप छ।

२०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारीले विभिन्न वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ, जबकि यसले २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ बचत फिर्ता गर्नु पर्ने देखिन्छ।

सहकारी रजिष्ट्रार कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि पठाएको पत्रमा वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरिएको छ भने, पोखरेलकी पत्नी अञ्जलाको नाम समावेश छैन।

प्रकाशित मिति: २०२४-११-०७ , समय : ०१:१६:११ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्