कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, तर सोधपुछ नगरेको भन्दै आलोचना
मिति: २०२४-११-११ , समय : १०:२२:५८ , Our Pradesh
मिति: २०२४-११-११ , समय : १०:२२:५८ , Our Pradesh
Our Pradesh
विराटनगर (रङ्गेली), कात्तिक २६ – ललितपुरको मितेरी
बचत तथा ऋण सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङमाथि गम्भीर आरोप लागे पनि सोधपुछसम्म नगरिएको विषयले जनस्तरमा चासो र असन्तुष्टि बढेको छ। सहकारी ठगी प्रकरणमा गत साउनमै संसदीय छानबिन विशेष समितिले शीघ्र अनुसन्धान गर्न निर्देशन दिए पनि हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै ठोस कदम उठाएको छैन।
सत्तारूढ दल कांग्रेसका प्रभावशाली नेता गुरुङले सहकारीमा रकम हिनामिना गर्न श्रीमती ज्योति गुरुङलाई अगाडि सारेर सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ। हिनामिना प्रकरण सार्वजनिक भएपछि गुरुङले नक्कली सम्बन्धविच्छेद गरेको आशंका गरिएको छ। सीआईबीले उनीविरुद्ध उजुरी दर्ता गर्न अस्वीकार गरेपछि, नेता गुरुङको संलग्नता पुष्टि भएको भन्दै गम्भीर अनुसन्धानको माग बलियो बनेको छ।
मितेरी सहकारीमा करोडौंको अपचलन, छानबिन रोकिनुको कारण कांग्रेसको आन्तरिक दबाब?
मितेरी सहकारीको आन्तरिक छानबिनले गुरुङकी श्रीमती ज्योति गुरुङ र सहअभियुक्त ज्योतिबहादुर भण्डारीको मिलेमतोमा १४ करोड रुपैयाँभन्दा बढीको अपचलन भएको तथ्य फेला पारेको छ। इन्टरपोलले भण्डारी र गुरुङमाथि ‘रेड नोटिस’ जारी गरिसकेको छ। यस प्रकरणमा मितेरी सहकारीका सञ्चालकहरूले गत साउनमा धनराज गुरुङसहित ११ जनाविरुद्ध उजुरी गरेका थिए। तर, सीआईबीले कानूनी प्रक्रिया र अधिकार क्षेत्रको कारण देखाउँदै अनुसन्धान रोकिदिएको हो।
वाग्मती प्रदेशका कांग्रेस नेताहरू मुख्यमन्त्री बहादुरसिंह लामा र सहकारी मन्त्री विमल ठकुरीको दबाबमा गुरुङको नाम सूचीबाट हटाइएको आरोपले पनि कांग्रेसको भूमिकाप्रति प्रश्नचिह्न खडा गरेको छ।
सहकारी ठगी काण्डमा नक्कली सम्बन्धविच्छेदको आशंका
सहकारी ठगी प्रकरणमा नक्कली सम्बन्धविच्छेद गरि धनराज र ज्योति गुरुङ एकै घरमा बस्नेसम्मको जानकारी समितिको प्रतिवेदनमा उल्लेख छ। संसदीय समितिले गृह मन्त्रालयलाई ज्योति गुरुङलाई पक्राउ गरी उपस्थित गराउन निर्देशन दिएको छ, जसले गर्दा सहकारी ठगीको पछाडि रहेका अन्य पात्रहरूको पनि पर्दाफास हुने अपेक्षा
गरिएको छ।
प्रकाशित मिति: २०२४-११-११ , समय : १०:२२:५८ , ५ महिना अगाडि