रंगेली: १५ लाख भन्दा माथि सुन-चाँदी र नगद चोरी, अनुसन्धान जारी

मिति: २०२४-११-२७ , समय : २२:१४:५९ , पारस मण्डल

पारस मण्डल

रंगेली: १५ लाख भन्दा माथि सुन-चाँदी र नगद चोरी, अनुसन्धान जारी

 

फोटो – सुरेन्द्र सागर

गत मङ्सिर १० गते ,रंगेली नगरपालिका वडा नम्बर ५, आमगाछी टोलमा सोमबार राति एक ठूलो चोरीको घटना भएको छ। श्री बैधनाथ पण्डितको घरबाट १५ लाखभन्दा माथिको सुन-चाँदी र ६०–६५ हजार नगद चोरी भएको छ।

घटना राति करिब १ देखि ३ बजेको बीचमा भएको बताइएको छ। पीडित पण्डितका अनुसार, राति १२ बजे विराटनगरमा रहेकी छोरीसँग फोनमा कुरा गरेर सुतेपछि बिहान ४ बजे शौचालय जान उठ्दा घरभित्रै थुनिएको चाल पाएका थिए। त्यसपछि उनले छिमेकी जागेश्वर मण्डललाई फोन गरेर सहयोग मागे। छिमेकीले पुगेर ढोका खोलेका र मुख्य गेटमा समेत बाहिरबाट ह्यान्डल लगाइएको जानकारी दिए।

(फोटो- सुरेन्द्र सागर)

पीडितको घरको संरचना दुई तल्ले टिनको छानासहित पक्की दिवारले बनेको छ। चोरले दक्षिण मोहडाको एउटा कोठाबाट ठूलो फलामको बाकस चोरेर लगेको छ। उक्त बाकसमा सुन-चाँदीका गहना र नगद रकम राखिएको थियो। चोरले लत्ताकपडा भएको अर्को बक्स पनि लगेका थिए, जुन घरदेखि करिब १०० मिटर टाढा बाँसको झाडीमा फेला परेको छ।

 

स्थानीय प्रहरी चौकीका इन्चार्ज जगदीश प्रसाद शाहको टोलीले फेला परेको बक्स पीडितलाई बुझाएको छ। चोरी भएका मुख्य सामान भने हालसम्म पनि फेला परेको छैन।

 

घटना स्थलमा बिहान ९ बजे इलाका प्रहरी कार्यालयको टोलीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। पीडितका अनुसार, चोरीमा २ किलो चाँदी, ८ तोला सुन र नगद ६०–६५ हजार गुमेको छ।

पीडित पण्डितले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर ल्याउन आग्रह गरे। तर, प्रशासनले घटना स्थलको गोपनीयता भंग भएको कारण कुकुरबाट अनुसन्धान असम्भव रहेको बताएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको र चोरहरूको पहिचान तथा पक्राउका लागि प्रयास भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने अपेक्षा

गरिएको छ।

 

प्रकाशित मिति: २०२४-११-२७ , समय : २२:१४:५९ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित