रतुवामाई : सिद्धकाली माविमा विद्यार्थी प्रोत्साहन र अक्षयकोषको घोषणासहित अभिभावक भेला सम्पन्न
रतुवामाई सिद्धकाली माविमा अभिभावक भेला: विद्यार्थी प्रोत्साहन, अक्षयकोष स्थापना र शैक्षिक सामग्री वितरणका साथ भव्य कार्यक्रम सम्पन्न
मिति: २०२४-१२-०४ , समय : २०:०६:३१ ,
राम कुमार शर्मा
राम कुमार शर्मा
मोरङको रतुवामाई–६ स्थित सिद्धकाली माविमा बुधबार वार्षिक अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। रतुवामाई नगरपालिकाका मेयर र उपमेयरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका गतिविधि, सहयोग, र विद्यार्थी प्रोत्साहनका विविध कार्यक्रमहरू सम्पन्न भए।

कार्यक्रममा श्री पुण्यप्रसाद/बिमला घिमिरे, श्री दुर्गाबहादुर श्रेष्ठ, र श्री पवित्र/ललिताकुमारी लिम्बूद्वारा स्थापित अक्षयकोषमार्फत छात्रबृत्ति बितरण, कक्षा ६ देखि १० मा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरियो। यससँगै, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय प्रह्लालप्रसाद पोख्रेलको स्मृतिमा रु. ५१,०००/- को अक्षयकोष स्थापना गरिएको घोषणा गरियो।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सामूहिक रूपमा रु. १,४६,०००/- को अक्षयकोष स्थापनाको घोषणा गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, समाजसेवी बैजनाथ शर्माले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु. ५१,०००/- को अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाए।
यसका अतिरिक्त, समाज सेवी बैजनाथ शर्मा र दिपेन्द्र शाहको संयुक्त सहयोगमा करिब रु. १५,०००/- मूल्यका शैक्षिक सामग्रीहरू पनि वितरण गरिएका छन्, जसले विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा आमन्त्रित अतिथि, अभिभावक, विद्यार्थी, तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रह्यो। साङ्गीतिक प्रस्तुतिले कार्यक्रममा थप आकर्षण थप्दै सहभागीहरूको मन जित्यो।







प्रकाशित मिति: २०२४-१२-०४ , समय : २०:०६:३१ , ५ महिना अगाडि