धनपालथान सहकारी ठगी प्रकरण: सांसद पत्नी अञ्जला कोइराला र वडाध्यक्ष सन्तलाल खवास फरार

मिति: २०२४-१२-१५ , समय : २१:४५:११ , Our Pradesh (our biratnagar)

Our Pradesh (our biratnagar)

धनपालथान सहकारी ठगी प्रकरण: सांसद पत्नी अञ्जला कोइराला र वडाध्यक्ष सन्तलाल खवास फरार

(Credit-Our Biratnagar)

मोरङ, धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था को ठगी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। यसमा रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास र सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला समेत फरार रहेका छन्।

 

प्रहरी अनुसन्धानका आधारमा गत मंसिर २७ गते संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको हो। सहकारीका संचालक रोशन राजवंशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ।

 

सहकारी ऐन २०७४ अनुसार कारबाहीको माग गरिएको उक्त प्रकरणमा संचालकहरूलाई २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्नुपर्ने माग गरिएको छ। सहकारीले महिला उद्यमशील कर्जा शीर्षकमा सदस्यहरूको कागजात प्रयोग गरी नबिल बैंकबाट ऋण निकालेको थियो। तर, ऋणीहरूलाई थोरै रकम मात्र उपलब्ध गराएर बाँकी रकम हिनामिना गरिएको आरोप छ।

 

सांसद पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक हुँदा लिएको ऋण नतिरेपछि कालोसूचीमा परेको पाइएको छ। सहकारीमा संकलित बचत रकम बैंकमा दाखिला नगरी संचालकहरूले व्यक्तिगत प्रयोजनमा खर्च गरेको प्रमाणित भएको छ।

यसैबीच, सहकारी संस्थाले अनुमति विना अमरदह, आमबारी, रमाइलो लगायतका स्थानमा शाखा विस्तार गरी थप अनियमितता गरेको पनि खुलेको छ। ७०७ जना ऋणीहरूबाट २४ करोड ३० लाख २२ हजार ५३४ रुपैयाँ सहकारीले लगानी गरेकोमा अहिलेसम्म मात्र ८ करोड १३ लाख ६४ हजार ७०१ रुपैयाँ मात्र उठ्न सकेको छ। बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ उठ्न बाँकी रहेको छ।

 

प्रहरीले सहकारी कार्यालयमा ताल्चा फोडेर कागजात जफत गरेको थियो भने पीडितहरूले दोहोरो मार खेप्दै आएको बताएका छन्। घटनाले सहकारी क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न

उठाएको छ।

 

प्रकाशित मिति: २०२४-१२-१५ , समय : २१:४५:११ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित