गगनबिनै सुदूरपश्चिमबाट महाधिवेशनको अभियान थाल्दै शेखर कोइराला
मिति: २०२४-१२-१९ , समय : २२:१५:२२ , Our Pradesh
मिति: २०२४-१२-१९ , समय : २२:१५:२२ , Our Pradesh
Our Pradesh
गगनबिनै सुदूरपश्चिमबाट महाधिवेशनको अभियान थाल्दै शेखर कोइराला
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका महामन्त्री गगन थापाबिनै १५ औँ महाधिवेशनको अभियान सुरु गर्ने तयारी गरेका छन्। १४ औँ महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट महामन्त्री निर्वाचित भएका गगन थापा पछिल्लो समय कोइरालासँग टाढिएका छन्।
गगन थापाको अनुपस्थितिमा कोइरालाले आफ्नो पक्षका अन्य नेताहरूलाई साथमा लिएर शुक्रबार सुदूरपश्चिम प्रदेशबाट महाधिवेशनको अभियान प्रारम्भ गर्न लागेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिमको धनगढीबाट अभियान सुरु गर्न कोइराला शुक्रबार प्रस्थान गर्दैछन्।
शेखर कोइरालाको सचिवालयका अनुसार धनगढीमा पुगेपछि उनले प्रदेशका नौवटा जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्। यी भेटघाटहरूमा कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै रणनीति निर्माण र संगठनात्मक गतिविधिबारे छलफल हुनेछ।
शनिबार बिहान उनले भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसँग विशेष छलफल गर्ने, दिउँसो प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, शनिबार साँझ स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रिया गरी अभियानलाई थप विस्तार गर्ने योजना रहेको सचिवालयले जानकारी दिएको छ।
डा. कोइरालासँग यो अभियानमा हृदयराम थानी, डा. गोविन्दराज पोखरेललगायतका नेताहरू सहभागी हुनेछन्। शनिबार साँझ नै कोइरालाको काठमाडौं फर्कने तालिका रहेको छ।
नेपाली कांग्रेसको संगठन बलियो बनाउन र आगामी महाधिवेशनलाई प्रभावकारी बनाउन कोइरालाको यो अभियानलाई महत्त्वपूर्ण
मानिएको छ।
प्रकाशित मिति: २०२४-१२-१९ , समय : २२:१५:२२ , ४ महिना अगाडि