रङ्गेलीका दुई पत्रकार: राष्ट्रिय सफलताले नगरको गरिमा उचाल्दै
मिति: २०२४-१२-२६ , समय : २२:२९:४५ , पारस मण्डल
मिति: २०२४-१२-२६ , समय : २२:२९:४५ , पारस मण्डल
पारस मण्डल
रङ्गेलीका दुई पत्रकार: राष्ट्रिय सफलताले नगरको गरिमा उचाल्दै
रङ्गेली नगरपालिकाका दुई अग्रणी पत्रकारले आफ्नो अद्वितीय सफलताले रङ्गेलीलाई राष्ट्रिय गौरवको केन्द्रमा पुर्याएका छन्।
रङ्गेली वार्ड नं. ७ निवासी कुमोद अधिकारीले पत्रकारिताको यात्रामा २१ वर्षको उमेरमा पुष्पाञ्जली साप्ताहिकबाट आफ्नो यात्रा सुरु गर्नुभयो।
“चिरफार साप्ताहिक,” “फेवा पाठिक,” र “डिम्ब प्रतिबिम्ब” पत्रिकाबाट अनुभव सँगाल्दै, उहाँ रेडियो नेपालको मोरङ संवाददाताको रूपमा स्थापित हुनुभयो। हाल रेडियो नेपालमै कार्यरत अधिकारीले नेपाल प्रेस युनियनको अध्यक्ष पद दुईपटक सम्हाल्नुभएको छ भने नेपाल पत्रकार महासङ्घको कोशी प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँको दुई दशक लामो संघर्षले रङ्गेली नगरको नाम उच्च राख्न सफल बनाएको छ।
त्यस्तै, रङ्गेली वार्ड नं. ३ रञ्जली निवासी सुशीला पाठकले पनि पत्रकारितामा विशिष्ट योगदान गर्नुभएको छ। १५ वर्षअघि रेडियो पत्रकारिताबाट सुरु गरेको यात्रा आज कान्तिपुर टेलिभिजनको संवाददातासम्म आइपुगेको छ। नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्ष पदमा निर्वाचित हुनुभएका पाठक मोरङको पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभएको छ। यसअघि उहाँ मोरङ महिला उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो।
सुशीला पाठक
दुवैजना पत्रकारले आफ्नो लगनशीलता र मेहनतले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा रङ्गेलीको पहिचान स्थापित गरेका छन्। कुमोद अधिकारीले कोशी प्रदेशमा र सुशीला पाठकले मोरङ जिल्लामा हासिल गरेको सफलताले रङ्गेलीको नामलाई राष्ट्रिय रूपमा उचालेको छ। यस उपलब्धिले सम्पूर्ण रङ्गेलीबासीलाई गर्व र खुसीको अनुभूति गराएको छ।
रङ्गेलीको माटोबाट उभिएका यी दुई पत्रकारको योगदानले नगरको गरिमा थप उच्च बनाएको छ।
प्रकाशित मिति: २०२४-१२-२६ , समय : २२:२९:४५ , ४ महिना अगाडि