विवादपछि सृजना भएको प्रतिस्पर्धाले श्री पब्लिक विद्यालयको पुरानो कक्षा कोठा र छात्रवास भवन दोब्बर मूल्यमा विक्री
विवादपछि सृजना भएको प्रतिस्पर्धाले श्री पब्लिक विद्यालयको पुरानो कक्षा कोठा र छात्रवास भवन दोब्बर मूल्यमा विक्री
मिति: २०२४-१२-२८ , समय : ०८:४४:१३ ,
राम कुमार शर्मा
राम कुमार शर्मा
मोरङको रंगेली स्थित शुक्रबार श्री पब्लिक विद्यालयको नयाँ भवन निर्माण भइसकेपछि, पुरानो कक्षा कोठा र छात्रावास भवन झन्डै दोब्बर मूल्यमा बिक्री भएको छ। विद्यालयले तोकिएको न्यूनतम बिक्री मूल्यभन्दा झन्डै दुई गुणा बढी मूल्य दिएर रंगेली निवासी सुशील कुमार पौदारले सो भवन खरिद गरेका हुन्। विद्यालयले भवन बिक्रीका लागि पाँचौँ पटक बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्र आह्वान अनुसार सम्झौता रकम एकमुष्ट तिर्ने र २ महिना भित्र खाली गर्ने शर्तमा २० लाख २८ हजार १८७ रुपैयाँ ६८ पैसा तोकिएको न्यूनतम बिक्री मूल्यको भवनलाई पौदारले ३५ लाख ५२ हजार ५५४ रुपयामा खरिद गरेका छन्। यो मूल्य विद्यालयले तोकेको मूल्यभन्दा १.७५ प्रतिशत उच्च रहेको छ।

विद्यालयले यसअघि पनि तीन पटक बोलपत्र आह्वान गरेको थियो। तर ती बोलपत्रमा कुनै पनि व्यवसायी वा व्यक्तिले खरिदका लागि बोलपत्र बुझाएका थिएनन्। चौथो पटक आह्वान गरिएको बोलपत्रमा भने खरिदारहरूले बोलपत्र हालेका थिए, तर सो बोलपत्र खारेज गरिएको थियो।

चौथो बोलपत्रका दिन दुई समूहबीच केही विवाद सृजना भएको थियो। एक समूहले अर्को समूहलाई बोलपत्र हाल्न बाट रोके छेक गरी, बोलपत्र भर्ने समय कटाएको आरोप लगेको थियो। जसले विद्यालयमा तनाव निम्त्यायो। यस विवादलाई समाधान गर्न रंगेली नगर प्रमुख दिलीप कुमार अग्रवाल स्वयं उपस्थित भए पनि कुनै निष्कर्ष ननिस्केपछि सो दिनको बोलपत्र खारेज गरी पाँचौँ पटकको बोलपत्र आह्वान गरिएको थियो।

चौथो पटकको बोलपत्र खारेज र पाँचौं पटकको बोलपत्र प्रक्रिया आह्वान मात्र भएको थिएन, बोलपत्रदाताहरूबीच प्रतिस्पर्धा पनि सुरु भएको थियो। प्रत्येक समूहले आ–आफ्नो दाउपेच र बुद्धि प्रयोग गर्दै भवन खरिदका लागि प्रयास गरे।

पाँचौँ पटकको बोलपत्रमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा दोस्रो र तेस्रो स्थानमा रहेका बोलपत्रदाताहरूले विद्यालयको न्यूनतम मूल्यभन्दा करिब ४ लाखदेखि ५ लाखसम्म धेरै थपेर बोलपत्र बुझाएका थिए। भने, पहिलो स्थानमा आएका पौदारले कसैले कल्पना नै नगरेको बोलपत्र हालेर १५ लाखभन्दा धेरै मूल्य बढाएर बोलपत्र आफ्नो नाममा सुरक्षित गरे।

प्रकाशित मिति: २०२४-१२-२८ , समय : ०८:४४:१३ , ३ महिना अगाडि