कोरोनाले डुब्यो, संसारी माई ले उकास्यो

"अन्त्यमा ठाकुर भन्छन्, “कोरोनाले मेरो पढाइ छुटायो, बाबाको व्यापार ठप्प पार्‍यो। दाइ विदेश उड्यो। तर मलाई संसारी माइले आफ्नै शरणमा राखिन्।”

मिति: २०२५-०१-०८ , समय : २२:१८:४२ , राम कुमार शर्मा

राम कुमार शर्मा

मोरङ्गको रंगेली-७ स्थित श्री संसारी माई मन्दिरमा हाल भक्तजनहरूको भीड दिनदिनै बढ्दै गएको छ। श्रद्धा र विश्वासका कारण यहाँ आउने मानिसहरूले आफ्नो मनोकामना पूरा हुने विश्वास राख्छन्। स्रोतका अनुसार, दैनिक औसतमा १५०० देखि २५०० भक्तजनहरू मन्दिर दर्शनका लागि उपस्थित हुन्छन्, विशेष दिन वा शनिवारको दिन, यो तथ्यांक दोब्बर वा तेब्बर हुनसक्छ।

सोही मन्दिरको मूल गेटमा बसेर अभिषेक ठाकुरले पूजा गर्न आउने भक्तजनलाई चाहिने पूजा सामग्रीको डाली (फूल, अगरबत्ती, सलाई, कपूर, दियो, माला, चुन्द्री इत्यादि भएको डाली) केही शुल्क लिएर वितरण गर्छन्। जसबाट ठाकुरले आफ्नो घर परिवार धानेको छ।

२४ वर्षीय ठाकुर भन्छन्, “२०७६ मा जब विश्व नै कोरोनाको महामारीले घरमै बसेको थियो, एस.इ.इ. परीक्षा समयमै हुन्छ कि फेरि अगाडि सरिन्छ भन्ने तनावमा हामीले जसोतसो परीक्षा पास गर्‍यौँ। एस.इ.इ.पछि अगाडि बढ्ने रहर कसलाई हुँदैन र? मलाई पनि थियो। तर बुवाको सैलुनबाट घर खर्च चलाउने एकमात्र स्रोत थियो। त्यो पनि कोरोनाले बर्बाद पारिदियो। सटरको भाडा तिर्न नसकेर पसल बन्द गर्नुपर्‍यो। घरको आर्थिक अवस्था दिनदिनै बिग्रिँदै गयो। बाध्य भएर मेरो दाइ विदेश जानुपर्‍यो। यता आफूले एस.इ.इ.पछि पढाइलाई निरन्तरता दिन सकिनँ।

केही गर्नैपर्छ भनेर २०७७ मा कोरोनाको महामारी केही कम भएपछि थोरै पैसाको जोहो गरेर यही संसारी माई मन्दिरको ढोकामा पसल थालें। सुरुमा अप्ठ्यारो भए पनि आज भने म खुसी छु। मेरो मासिक रु.१ लाखको कारोबार हाराहारी हुन्छ। जसको मुनाफाबाट मेरो घरपरिवार राम्ररी चलाउन सकेको छु।

“अन्त्यमा ठाकुर भन्छन्, “कोरोनाले मेरो पढाइ छुटायो, बाबाको व्यापार ठप्प पार्‍यो। दाइ विदेश उड्यो। तर मलाई संसारी माइले आफ्नै शरणमा राखिन्। जय माँ संसारी!”

प्रकाशित मिति: २०२५-०१-०८ , समय : २२:१८:४२ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित