रङ्गेलीका वडाध्यक्ष ५ लाख धरौटीमा रिहा, ठगी प्रकरणमा मुख्य आरोपित अञ्जला कोइराला १० लाखमा थुनामुक्त
मिति: २०२५-०१-०९ , समय : ०९:१८:१९ , पारस मण्डल
मिति: २०२५-०१-०९ , समय : ०९:१८:१९ , पारस मण्डल
पारस मण्डल
विराटनगर— मोरङको कर्सियास्थित उमागौरी सहकारीको २२ करोड रुपैयाँ ठगी प्रकरणमा मुछिएका रङ्गेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। ठगी प्रकरणमा मुख्य आरोपित मानिएकी प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला भने १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त भएकी छन्।
तीन सातादेखि फरार रहेकी अञ्जलालाई अदालतमा उपस्थित भएकै दिन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले थुनछेक बहस सकेर धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सहकारी ठगी प्रकरणमा अञ्जलासहित २६ जनाविरुद्ध गत मंसिर २७ मा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो।
यसअघि, धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। ठगी प्रकरणमा अन्य व्यक्तिहरू पनि अनुसन्धानको घेरामा छन्। अदालतले अञ्जलालाई सात दिनभित्र उपस्थित हुन आदेश दिए पनि उनी तीन सातापछि मात्र अदालतमा उपस्थित भएकी थिइन्।
उमागौरी सहकारीको ठगी प्रकरणले मोरङका विभिन्न तहका व्यक्तिहरूको संलग्नताबारे थप प्रश्न खडा गरेको छ।
प्रकाशित मिति: २०२५-०१-०९ , समय : ०९:१८:१९ , ३ महिना अगाडि