माघे संक्रान्ति: थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व धुमधामसाथ मनाउँदै

मिति: २०२५-०१-१४ , समय : ०९:५०:३७ , Our Pradesh

Our Pradesh

माघे संक्रान्ति: थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व धुमधामसाथ मनाउँदै

मोरङ रङ्गेली,माघ १, २०८१ :

आज देशभर थारू समुदायसँगै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व उल्लासपूर्वक मनाइरहेका छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्तिका दिन माघ १ लाई मकर संक्रान्ति भनिन्छ। यो अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा पाँच दिनसम्म विविध परम्परागत विधिबाट मनाउने गर्दछ। बिहानै जलाशयमा स्नान गरी तिल दान, पूजा, खानपिन, तथा रमाइलो गरिन्छ। बेलुका धुनी बालेर परिवार र पाहुनाबीच आपसी खुसी साटासाट गर्ने चलन छ।

 

माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिल, तरुल, खिचडीजस्ता परिकार खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तिलको तेल मालिसले जाडो कम गरी शरीरलाई सुदृढ बनाउने आयुर्वेदिक मान्यता रहेको छ।

थारू समुदायमा माघी पर्वकै अवसरमा गाउँका मुखिया तथा विभिन्न पदाधिकारी चयन गरिन्छ। यो प्रथा ‘माघी देवानी’ भनेर चिनिन्छ। माघीका समयमा गरिएको सहमति एक वर्षसम्म अकाट्य मानिन्छ।

माघे संक्रान्ति पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले विशेष महत्व बोकेको छ। देशका विभिन्न तीर्थस्थलमा आज स्नान, जप, ध्यान, तथा दानका लागि भक्तजनको ठूलो उपस्थिति देखिएको छ।

 

 

प्रकाशित मिति: २०२५-०१-१४ , समय : ०९:५०:३७ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित