शान्तिवनका ‘ठग’ डाक्टर र नेटवर्किङ कारोबारी प्रधानमन्त्रीको नाम भजाउदै मेलाको तयारीमा

मिति: २०२३-०३-३१ , समय : १२:५९:०६ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर । शृङ्खलावद्ध ठगी गरेको आरोप लागेका एभरेस्ट साइन्स सेन्टर (विज्ञान केन्द्र) शान्तिवन बर्जु सुनसरीका सञ्चालक डा. दिलीप अधिकारी अर्को धन्दामा सक्रिय छन् ।

विज्ञान केन्द्रमा मेला लगाउने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको नाम भजाएका छन् । प्रधानमन्त्री आउने–नआउने टुंगो नलाग्दै ‘प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम’ भन्दै अधिकारी स्टल बुकिङमा लागेका हुन् ।

उनले मेला लगाउन विराटनगरका टिकेन्द्र श्रेष्ठ र सुमन कट्टेललाई जिम्मा दिएका छन् । श्रेष्ठ र कट्टेल विवादास्पद नेटवर्किङ व्यवसायमा जोडिएका व्यक्ति हुन् । उनीहरू विराटनगरमा ‘डाइरेक्ट सेलिङ’ को नाममा नेटवर्किङ धन्दा चलाउँदै आएका व्यक्ति हुन् ।
मेला वैशाख ६, ७, ८ र ९ गतेसम्म सञ्चालन गर्ने तयारी उनीहरूको छ । ‘अहिले म स्टल बुकिङमा लागेको छु, खासै पोजेटिभ रेस्पोन्स छैन,’ श्रेष्ठले भने । श्रेष्ठले प्रधानमन्त्रीलाई उद्घाटनमा ल्याउने तयारी गरिएको भए पनि अन्तिम टुंगो भने नलागेको बताए ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार वैशाख ६ गते सुनसरी जाने कुनै कार्यक्रम तय भएको छैन । प्रधानमन्त्रीको सचिवालयमा खबर पुगेको पनि छैन । तर, यता आयोजक भने प्रधानमन्त्री आउने भन्दै स्टल बुकिङमा सक्रिय छन् । केन्द्रमा विज्ञान मेला, औद्योगिक तथा कृषि व्यापारका स्टल राख्ने तयारी छ ।

विज्ञान विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने, विज्ञान शिक्षालाई उन्नयन गर्ने र औद्योगिक तथा कृषि, व्यापार व्यवसायीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको दाबी आयोजकको छ ।
नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ । मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान–प्रविधिका विषयमा अधिक जानकारी पाउने दाबी गरिएको छ ।
साथै, ठूलादेखि साना उद्योगीहरूले समेत आफ्ना १०० भन्दा बढी स्टल राखी नेपालका ७७ वटा जिल्लाबाट आएकाहरूले आफ्ना उत्पादित वस्तु बिक्री तथा प्रदर्शनी गरी आ–आफ्नो व्यापार गर्ने दाबी उनीहरूको छ ।
स्मरणरहोस्, अधिकारीले पहिले पनि नासाबाट चन्द्रमाको चट्टान ल्याएको भन्दै दुनियाँलाई छलेका थिए । उक्त चट्टान नासाबाट ल्याइएको हो÷होइन भनी परराष्ट्र मन्त्रालयले हालसम्म आधिकारिक पुष्टि गरिसकेको छैन ।
डा. अधिकारी चेक बाउन्स प्रकरणमा एक पटक थुनामा परेका थिए । उनले विराटनगरमा साथीभाइ बनाउँदै ठग्दै आएका छन् । कतिपयको जग्गाजमिन तथा कतिपयसँग नगद लिएर उनले वर्षौंदेखि पीडित बनाएका छन् ।

अधिकारीले २०७८ फागुन ६ गते छोरा सुदीव विक्रम अधिकारीको धापासी काठमाडौंकी एक युवतीसँग विवाह गराएका थिए । सो विवाहका लागि घर रंगरोगन गर्न उधारोमा कन्चनवारी र विराटनगरको एक पसलबाट ४–५ लाख बराबरको रंग लगेका थिए । सो वापत उनले चेक दिएका थिए । सो चेक नसाटिएपछि व्यवसायीले बाउन्स गरेर राखेका छन् ।
त्यस्तै, छोराकै विवाहका लागि विराटनगरको एक नाम चलेको सुन पसलबाट ५–७ लाख बराबरको चेक दिएर सुन लगेका थिए । चेक नसाटिएपछि उनले बाउन्स गरेर राखेका छन् । मेलामा अनुमानित एक लाख भन्दाबढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला हेर्न जाँदा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट लाग्ने जनाइएको छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १२:५९:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित