मोरङमा सहकारी रकम अपचलन प्रकरण: अध्यक्ष रौनियार प्रहरी नियन्त्रणमा

मिति: २०२५-०१-२७ , समय : २१:३७:२६ , Our Pradesh

Our Pradesh

 

मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा फरार रहेका सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार जिल्ला अदालत मोरङमा आफैं उपस्थित भएका छन्।

रौनियार लामो समयदेखि फरार रहेका थिए। अदालतमा उपस्थित भएपछि न्यायाधीश अरुणकुमार झाको इजलासले उनको बयान लिने प्रक्रिया सुरु गरेको छ। बयान नसकिएपछि अदालतले उनलाई मंगलबार पुनः उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको छ।

 

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मंगलबार बाँकी बयान लिने प्रक्रिया पूरा हुनेछ। त्यसपछि थुनछेक बहस हुनेछ, जसमा रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने, वा साधारण तारेखमा छाड्ने विषयमा अदालतले आदेश दिनेछ।

 

यस प्रकरणमा रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीसहित २६ जनालाई प्रतिवादी बनाइएको छ।

 

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित अभियोगपत्र दर्ता गरेको छ। अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरीमात्रै पक्राउ परेका थिए। रौनियार भने अदालतमा सुटुक्क उपस्थित भएपछि मात्र प्रहरी नियन्त्रणमा लिइएका हुन्।

 

अहिलेको प्रक्रिया सकिएपछि अदालतले यस मुद्दामा आगामी कदमका लागि निर्देशन दिनेछ।

 

प्रकाशित मिति: २०२५-०१-२७ , समय : २१:३७:२६ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित