बढ्दो चिसोको असर: विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै

खोलापारिबाट आउने विद्यार्थीहरू चिसोका कारण विद्यालय आउन सकेका छैनन्। झोलुंगे पुल नभएका कारण समस्या भएको छ।

मिति: २०२५-०१-२९ , समय : १४:५९:१६ , राम कुमार शर्मा

राम कुमार शर्मा

हाल केही सातादेखि देशभरि चिसो बढिरहेको छ। यसको असर जनजीवनमा प्रत्यक्ष रूपमा देखिन थालेको छ। विशेषगरी विद्यालयमा विद्यार्थीहरूको उपस्थितिमा उल्लेखनीय गिरावट आएको छ। ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू नियमित रूपमा विद्यालय जान सकिरहेका छैनन्।

मोरङको रङ्गेली नगरपालिकाका विभिन्न विद्यालयहरूमा सामान्य अवस्थाको तुलनामा हाल विद्यार्थीहरूको उपस्थिति १० देखि ५० प्रतिशतसम्म घटेको छ। विद्यालयका शिक्षकहरूका अनुसार यसको मुख्य कारण चिसोबाट जोगिनका लागि न्यानो लुगाको अभाव, रुघाखोकी र अन्य चिसोसँग सम्बन्धित रोगको डर, तथा आर्थिक अभाव हो।

श्री आधारभूत विद्यालय, मधुबनी (रङ्गेली-६) का प्रधानाध्यापक शिवानन्दन मण्डल भन्छन्, “हाम्रो विद्यालयका विद्यार्थीहरू प्रायः निम्न वर्गका छन्। उनीहरूसँग लाउनका लागि न्यानो लुगा छैन। यसैले उनीहरू विद्यालय आउन सकिरहेका छैनन्। जो विद्यार्थी आउँछन्, तिनीहरूलाई हामी आगो बालेर भए पनि पढाउने प्रयास गरिरहेका छौं।”

रङ्गेली-७ स्थित निचामारी आधारभूत विद्यालयका प्रधानाध्यापक कुन्दन शाह भन्छन्, “सानो उमेरका विद्यार्थीहरूलाई खेलकुद र मनोरञ्जन चाहिन्छ, त्यसैले विद्यालयमा आउने विद्यार्थीहरूलाई खेल्ने अवसर पनि दिइरहेका छौं। नजिकका विद्यार्थीहरू आउँछन्, तर खोलापारिबाट आउने विद्यार्थीहरू चिसोका कारण विद्यालय आउन सकेका छैनन्। झोलुंगे पुल नभएका कारण समस्या भएको छ, त्यसैले प्रदेश सरकारलाई पुल निर्माणका लागि पत्र लेखी पहल गरेका छौं।”

रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप न्यौपाने का अनुसार कक्षा ५ भन्दा मुनिका विद्यार्थीहरूको उपस्थितिमा ठूलो गिरावट आएको छ। विद्यालयमा आउने अधिकांश विद्यार्थी न्यून आर्थिक वर्गका भएकाले उनीहरू चिसोमा झन् प्रभावित भएका छन्।

रङ्गेली-९ का समाजसेवी रमेश कुमार मण्डल का अनुसार आर्थिक अवस्था कमजोर भएका  परिवारहरू दैनिक गुजारामै संघर्ष गरिरहेका छन्। “यी परिवारका लागि दिनको दुई छाक जोर्न नै गाह्रो छ। चिसोमा आवश्यक न्यानो लुगा, पौष्टिक आहार, र स्वास्थ्य उपचारको व्यवस्था गर्न झन् कठिन भइरहेको छ। यही कारणले गर्दा विशेषगरी तल्लो कक्षाका विद्यार्थीहरू विद्यालय जान पाएका छैनन्,” उनले बताए।

प्रकाशित मिति: २०२५-०१-२९ , समय : १४:५९:१६ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित