उर्लाबारीबाट चोरी भएका मोबाइल भारतमा फेला, मुख्य आरोपी अझै फरार

मिति: २०२५-०३-०८ , समय : १०:२१:२३ , राम कुमार शर्मा

राम कुमार शर्मा

विराटनगर । मोरङको उर्लाबारीबाट एक महिनाअघि चोरी भएका मोबाइल भारतमा फेला परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीको संयुक्त टोलीले भारतका विभिन्न स्थानमा ती मोबाइल फेला पारेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विभिन्न कम्पनीका २० वटा मोबाइल फेला पारिएको छ। चोरीमा भारतीय नागरिक संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरी गरिएका मोबाइल भारतमा पु-याइएको र संलग्न व्यक्ति भारततिर भागेको आशंका गरिएको छ।

उर्लाबारीबाट चोरी भएका मोबाइलसँगै नवलपरासीबाट चोरी भएका ११ वटा र दमकबाट चोरी भएको एउटा मोबाइल पनि फेला परेको एसएसपी दाहालले जानकारी दिए। उर्लाबारी–५ मा योगराज कार्कीले सञ्चालन गरेको ‘मोबाइल वर्ल्ड’ नामक पसलबाट गत माघ २१ गते राति ३ करोड रूपैयाँभन्दा बढी मूल्यका ४५० भन्दा धेरै मोबाइल चोरी भएका थिए।

तर, हालसम्म चोरीमा संलग्न कोही पनि पक्राउ परेका छैनन्। प्रहरीले भारतीय सुरक्षाकर्मीको समन्वयमा थप खोजी जारी राखेको जनाएको छ। प्रहरीले २० वटा मोबाइल मात्र फेला पारेको भन्दै बाँकी चोरी भएका मोबाइलको खोजी भइरहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: २०२५-०३-०८ , समय : १०:२१:२३ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित