मोरङ एमाले अधिवेशन : संस्थापन इतर समूहको वर्चस्व, ओली पक्षलाई झट्का

१२ वर्षपछि खोला फर्किन्छ भन्थे, एमाले मोरङको मत परिणामले पनि त्यस्तै संकेत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वको सिंगो शक्ति परिचालित हुँदासमेत नेता विनोद ढकालको नेतृत्वमा रहेको इतर समूहले पूरै प्यानलसहित विजय हासिल गरेको छ।

मिति: २०२५-०३-०८ , समय : १२:०९:३१ , Our Pradesh

Our Pradesh

मोरङ एमाले अधिवेशन : संस्थापन इतर समूहको वर्चस्व, ओली पक्षलाई झट्का

१२ वर्षपछि खोला फर्किन्छ भन्थे, एमाले मोरङको मत परिणामले पनि त्यस्तै संकेत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वको सिंगो शक्ति परिचालित हुँदासमेत नेता विनोद ढकालको नेतृत्वमा रहेको इतर समूहले पूरै प्यानलसहित विजय हासिल गरेको छ।

 

संस्थापन पक्षलाई ठूलो धक्का

विराटनगर महानगरपालिका वडा नं. ५ का एमाले नेता मीन आचार्य भन्छन्— “संस्थापन पक्षको चर्को पेलानमा परे पनि इतर समूह सिंगो पदाधिकारी टिम नै निर्वाचित गराउन सफल भयो। ओली पक्षको पूरै टिम लाग्दा पनि मोरङमा विनोद ढकाल एक्लै काफी भए।”

 

अर्का एमाले कार्यकर्ता माधव अधिकारी लेख्छन्— “जेजे गरे पनि जित सक्कली एमालेकै भयो।”

 

मत परिणाम सार्वजनिक भएपछि एमालेकै नेताहरूले अन्यायभित्र न्याय भएको भन्दै प्रतिक्रिया दिएका छन्। नेता नवलप्रसाद उपाध्याय लेख्छन्— “हे अन्याय, महसुस अवश्य भएकै होला कि न्याय त मुस्कुराइरहेको छ!”

 

मत परिणामले देखाएको शक्ति सन्तुलन

 

शनिबार विराटनगरमा सुरु भएको अधिवेशन संस्थापन पक्षले लम्ब्याएको थियो। तीन दिनमै सक्ने गरी तय गरिएको दसौँ जिल्ला अधिवेशन केन्द्रीय नेताहरूका कारण सात दिनसम्म लम्बिएको थियो। मतगणनामा समेत संस्थापन पक्षले विभिन्न बहानामा ढिलाइ गरेको आरोप छ।

 

संस्थापन पक्षबाट पार्टी उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य इन्चार्ज जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले जोडतोडले समर्थन गरे। तर, यति ठूलो शक्ति लागे पनि संस्थापन समूहको हार रोक्न सकेन।

 

उता, इतर समूहबाट विनोद ढकालसँगै केन्द्रीय सदस्यहरू रामलाल साह, युवराज बाँस्कोटा, नैनकला ओझालगायतको नेतृत्वमा चुनाव लडिएको थियो।

 

संस्थापन पक्षप्रति कार्यकर्ताको असन्तुष्टि

 

प्रदेश अधिवेशनको असर मोरङ जिल्लामा स्पष्ट देखिएको छ। कोसी प्रदेश अधिवेशनमा विनोद ढकाललाई हराउन संस्थापन पक्ष लागेपछि त्यसको प्रभाव अहिले मोरङ अधिवेशनमा समेत देखिएको छ।

 

नेता महेश भट्टराई भन्छन्— “केन्द्रको हस्तक्षेप, राम्रा कार्यकर्तालाई ओझेलमा पार्ने प्रवृत्ति र अनुशासनहीनता नै संस्थापन पक्षको पराजयको मुख्य कारण हो।”

 

अध्यक्षमा अजम्बर राई निर्वाचित

 

संघर्षको लामो यात्रापछि अजम्बर राई मोरङ एमाले अध्यक्षमा निर्वाचित भएका छन्। २०३६ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय उनले २०४७ सालमा पार्टीको संगठित सदस्यता पाएका थिए।

 

राईले विभिन्न कमिटी हुँदै जिल्लाको शीर्ष पद सम्हाल्न सफल भएका छन्। हाल उनी जिल्ला समन्वय समिति मोरङका प्रमुख हुन्।

 

राईको टिमबाट:

 

उपाध्यक्ष: सागर थापा

 

सचिव: सोमराज थापा

 

उपसचिवहरू: सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका छन्।

 

मोरङ जिल्ला अधिवेशनले एमालेभित्र तीव्र ध्रुवीकरण देखाएको छ। यसले संस्थापन पक्षलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाउनेछ। मोरङबाट सुरु भएको यो संकेत अन्य जिल्लामा समेत प्रभाव पार्ने आकलन गरिएको छ।

 

ओली पक्षको पराजयले एमालेभित्रको असन्तोष झन् बलियो बनेको छ। अबको दिनमा मोरङमा विनोद ढकाल नेतृत्वको इतर समूहले कस्तो

रणनीति अपनाउँछ भन्ने चासोको विषय बनेको छ।

 

प्रकाशित मिति: २०२५-०३-०८ , समय : १२:०९:३१ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित