सीमा कटे प्रसाईं: काँकडभिट्टा हुँदै भारत पुगे, प्रहरीलाई सुइँकोसम्म मिलेन
मिति: २०२५-०४-०४ , समय : १०:२८:४६ , Our Pradesh
मिति: २०२५-०४-०४ , समय : १०:२८:४६ , Our Pradesh
Our Pradesh
सीमा कटे प्रसाईं: काँकडभिट्टा हुँदै भारत पुगे, प्रहरीलाई सुइँकोसम्म मिलेन
दमक, चैत २२ – काठमाडौंको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गरेको पुष्टि भएको छ।
प्रहरीका अनुसार प्रसाईं चढेको बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो गाडी झापाको बीएन्डसी कलेज परिसरमा फेला परेको हो। हाल सो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं पुर्याइसकेको छ। गाडी अहिले अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ।
उच्च प्रहरी स्रोतका अनुसार प्रसाईं धर्मगुरु पुष्कर खतिवडासँगै सोही गाडीमा चढेर बीपी राजमार्ग हुँदै काँकडभिट्टा नाकासम्म पुगेका थिए। काँकडभिट्टामा पुगेर उनी गाडीबाट ओर्लिएर अर्को सवारी साधनमार्फत भारततर्फ प्रवेश गरेको पुष्टि भएको छ।
प्रसाईंको खोजीमा झापा प्रहरी सक्रिय रहँदा पनि उनी भारत प्रवेश गरिसकेको सुराकी सुरक्षायन्त्रलाई प्राप्त नभएको बुझिएको छ।
यसअघि, काठमाडौंको तीनकुनेस्थित निजी सटरमा प्रसाईंका समर्थकहरूद्वारा ढुंगामुढा गरिएको थियो। स्थिति तनावग्रस्त भएपछि प्रसाईं निजी सुरक्षाकर्मी र समर्थकहरूको साथमा त्यहाँबाट गुपचुप रूपमा निस्किएका थिए।
घटनापछि दुई जना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए तर उनीहरूलाई प्रसाईंको ठेगाना पत्ता लगाउन सकिएको थिएन।
प्रकाशित मिति: २०२५-०४-०४ , समय : १०:२८:४६ , १ हप्ता अगाडि