रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै, देशभर सार्वजनिक बिदा

मिति: २०२५-०४-०६ , समय : ०८:४४:५६ , Our Pradesh

Our Pradesh

रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै, देशभर सार्वजनिक बिदा

२३ चैत्र २०८१, आइतबार

रङ्गेली – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ।

 

त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् श्रीरामचन्द्रको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ। भगवान् विष्णुको सातौँ अवतार मानिने रामचन्द्रको जन्म बेलामा पुनर्वसु नक्षत्र, चन्द्रमा र वृहस्पतिको सान्निध्यमा कर्कट लग्न रहेको दुर्लभ संयोग बनेको थियो। साथै, सूर्य, मंगल, गुरु, शुक्र र शनि ग्रह एकै साथ कुण्डलीमा उपस्थित थिए।

 

रामनवमी पर्व वासन्तिक नवरात्रको नवौँ दिन मनाइन्छ। यिनै रामले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै मर्यादित र धर्मप्रधान ‘रामराज्य’ को स्थापना गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार रामनवमी पर्वको सार्थकता रामसरह मर्यादित, अनुशासित र न्यायप्रिय राज्य सञ्चालनको प्रतीकका रूपमा रहनु हो।

 

गाग्र्यतन्त्र अन्तर्गतको कृष्णवचन अनुसार चैत्र अष्टमीका दिन अष्टमातृकाको पूजा गरी नवमीका दिन भगवान् रामको पूजा, जप र ध्यान गरेमा मनोकांक्षित कार्य सिद्ध हुने उल्लेख छ।

 

यस अवसरमा नेपालका प्रमुख राममन्दिरहरूमा विशेष पूजा–आराधना हुँदैछ। जनकपुरधामस्थित रामजानकी मन्दिरमा आज विशेष मेला लाग्नेछ भने भारतको अयोध्यामा रामलीला तथा अन्य धार्मिक गतिविधिहरू भइरहेका छन्। रामनवमीका दिन पवित्र नदी, सरोवर तथा कुण्डहरूमा स्नान गरी व्रत बसेर रामायण पाठ, भजन–कीर्तन गर्ने परम्परा रहेको छ।

 

धर्मग्रन्थ ‘व्रतार्क’ अन्तर्गतको अगस्त्य संहितामा उल्लेख भएअनुसार, चैत्र शुक्ल नवमीमा श्रद्धा–भक्तिपूर्वक व्रत बसी भगवान् रामको पूजा गर्दा अनेक जन्मका पापहरू नष्ट भई वैकुण्ठ धाम प्राप्त हुने विश्वास गरिन्छ।

 

रामनवमीको पावन अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

 

प्रकाशित मिति: २०२५-०४-०६ , समय : ०८:४४:५६ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित