रङ्गेलीमा नेकपा (एमाले) को दोस्रो नगर अधिवेशन : आन्तरिक प्रतिस्पर्धाले बढायो राजनैतिक ताप, मोरङभर नेताहरूको नजर रङ्गेलीमै केन्द्रित
मिति: २०२५-०४-१० , समय : १०:५३:५४ , पारस मण्डल
मिति: २०२५-०४-१० , समय : १०:५३:५४ , पारस मण्डल
पारस मण्डल
रङ्गेलीमा नेकपा (एमाले) को दोस्रो नगर अधिवेशन : आन्तरिक प्रतिस्पर्धाले बढायो राजनैतिक ताप
रङ्गेली, मोरङ — नेकपा (एमाले) रङ्गेली नगर कमिटीको दोस्रो नगर अधिवेशन आज, चैत २८ गते, खुला सत्रका साथ सुरु हुँदैछ। राजनीतिक रुपमा अत्यन्तै संवेदनशील मानिएको यस अधिवेशनले मोरङ जिल्लाभर प्रभाव पार्ने आँकलन गरिएको छ। भोलि चैत २९ गते बन्द सत्रमा प्रवेश गर्ने तालिका तय गरिएको छ।
यसपटकको अधिवेशनमा आन्तरिक प्रतिस्पर्धा चर्किएको देखिन्छ। विगतका अधिवेशनहरूमा सर्वसम्मतिको अभ्यास हुँदै आएको भए पनि यस पटक भने प्रत्यक्ष प्रतिस्पर्धामा जाने संकेतहरू स्पष्ट देखिएका छन्। रङ्गेली नगरपालिकाभित्रै नेकपा (एमाले) दुई प्रमुख गुटमा विभाजित भएको चर्चा व्यापक छ।
एक पक्षबाट रङ्गेली वार्ड नं ३ राजकुमार खड्कालाई नगर अध्यक्षका लागि अघि सारिएको छ भने अर्का पक्षबाट रङ्गेली–२ का रामचिमरिया अध्यक्ष पदका आकांक्षीको रूपमा प्रस्तुत भएका छन्। उपाध्यक्ष पदमा पनि दुई गुटबीच प्रतिस्पर्धा चर्किएको छ — एकातिर रङ्गेली–७ का वडा अध्यक्ष रामचन्द्र मण्डल र वड नं. ५ का वडाध्यक्ष महानन मण्डल छन् भने अर्को पक्षबाट रंगेली–५ का नन्दलाल मण्डल प्रस्तुत भएका छन्। सचिव पदका लागि रङ्गेली–५ का कृष्णदेव ठाकुर र रङ्गेली–२ का बमलाल खवासबीच प्रतिस्पर्धा हुने संकेत छ। सहसचिवको लागि भने महिला उम्मेदवार अगाडि बढाउने दुई पक्षको रणनीति रहेको छ।
नगरप्रमुख दिलिप बगडिया नेतृत्वको नगरमा यसअघिका अधिवेशनहरूमा सर्वसम्मति देखिए पनि यसपटक प्रतिस्पर्धाले वातावरण तातेको छ। विश्लेषकहरू भन्छन्, मोरङ जिल्ला भित्रै देखिएको ऋषिकेश पोखरेल र विनोद ढकालको आन्तरिक प्रतिस्पर्धा अहिले रङ्गेलीमा प्रत्यक्षरूपमा प्रकट भएको छ।
राजनीतिक जानकारहरूको भनाइमा, यस्तो आन्तरिक प्रतिस्पर्धा पार्टी भित्र प्रजातान्त्रिक अभ्यासको सकारात्मक संकेत हो। प्रतिनिधिहरूको सक्रियता र सहभागिताले अधिवेशनलाई जीवन्त बनाएको छ। यसले पार्टीलाई मजबुत बनाउँदै लैजान सहयोग पुर्याउने विश्वास गरिएको छ।
रङ्गेली अधिवेशनले केवल नगर नेतृत्व चयन मात्र होइन, जिल्ला, क्षेत्रीय तथा प्रदेश तहको पार्टी निर्णयमा पनि निर्णायक भूमिका खेल्नेछ। त्यसैले यो अधिवेशन मोरङ जिल्लाका लागि एक रणनीतिक मोडको रूपमा देखा परेको छ।
प्रकाशित मिति: २०२५-०४-१० , समय : १०:५३:५४ , ५ दिन अगाडि