बेलबारीमा स्कुल प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थीको आँखा गुम्यो

मिति: २०२५-०४-२० , समय : १६:४४:५४ , Our Pradesh

Our Pradesh

‏बेलबारीमा स्कुल प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थीको आँखा गुम्य

बेलबारी, मोरङ।

मोरङको बेलबारी–९ स्थित डाँगीहाट लिटिल बुद्ध स्कुलका प्रिन्सिपल मणिकुमार तामाङको कुटाइबाट कक्षा ८ मा अध्ययनरत १३ वर्षीय आर्यन थारुले आफ्नो देब्रे आँखाको ज्योति गुमाएका छन्।

 

घटना केही महिना पुरानो भए पनि हालै मात्र सार्वजनिक भएको हो। परिवारका अनुसार, विद्यालयले आर्यनको उपचार गराउने प्रलोभनमा परिजनलाई घटना बाहिर नल्याउन आग्रह गरेको थियो। तर, लामो उपचारपछि चिकित्सकहरूले आर्यनको आँखा पूर्णरूपमा नदेख्ने बताएका र तिलगंगा आँखा अस्पतालमा गरिएको अपरेसनपछि पनि उनी १०० मिटरभन्दा पर देख्न नसक्ने जानकारी दिएपछि घटना बाहिर आएको हो।

 

आर्यनकी आमा आशा थारुले बताइन्, “कक्षामा अन्य विद्यार्थीहरू हल्ला गरिरहेका थिए, तर आर्यन चुपचाप बसेका थिए। त्यही बेला प्रिन्सिपलले भाटाले हान्दा त्यो आर्यनको आँखामा लाग्यो। सुरुमा बिराटनगरको तापडिया क्लिनिक हुँदै आँखा अस्पताल लग्यौं। पछि तिलगंगा लग्दा मात्रै थाहा भयो—उहाँको आँखाको ज्योति गुमिसकेको रहेछ।”

 

आर्यनका पिता लामो समयदेखि मलेशियामा छन्। आमाका अनुसार, विद्यालयले सम्पूर्ण उपचार खर्च व्यहोर्ने, उनलाई अध्ययनमा सघाउने र घटना गोप्य राख्न अनुरोध गरेको थियो।

 

प्रिन्सिपल तामाङले घटनामा आफूसँगै कमजोरी भएको स्वीकार गर्दै दुःख व्यक्त गरेका छन्। तर विद्यालयकै प्रमुखबाट यस्तो हिंसात्मक व्यवहार देखिएपछि अभिभावकहरू त्रासमा परेका छन्।

 

यस घटनाले विद्यालयमा विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले तत्काल आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने अभिभाव

कहरूको माग छ।

प्रकाशित मिति: २०२५-०४-२० , समय : १६:४४:५४ , ६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्