सरकारद्वारा मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन
मिति: २०२३-०४-०४ , समय : ११:५८:५५ , आवर प्रदेश
मिति: २०२३-०४-०४ , समय : ११:५८:५५ , आवर प्रदेश
आवर प्रदेश
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले भन्नुभयो, “देशमा देखिएको मिटरब्याज पीडितको समस्या समाधान गर्नेतर्फ मन्त्रिपरिषद् केन्द्रित छ । यस विषयमा छानबिन गर्न आयोग गठन गर्ने निर्णय भएको छ ।” छानबिन आयोगको सदस्यमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहनुभएको छ । उहाँले आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि मन्त्रिपरिषद् बैठकले तोकेको जानकारी दिनुभयो । मन्त्री शर्माले ठोस र मूर्त रूपमा मिटरब्याज पीडितको समस्या पहिचान गर्न र वास्तविक पीडितको आधिकारिक आँकडा तत्काल ल्याउने गरी आयोगलाई अधिकार दिइएको उल्लेख गर्नुभयो। उहाँका अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोगको कार्यालय जनकपुरमा राखिने भएको छ।
यसअघि शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूका समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो। शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिमा मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले आयोग गठन गर्ने सहमति भएको थियो। साथै मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गत शान्तिसुरक्षासम्बन्धी कार्यमा हुने खर्चसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:५८:५५ , २ वर्ष अगाडि