प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा उडान सहज बनाउने प्रतिबद्धता व्यक्त

मिति: २०२३-०४-२० , समय : ११:१६:०५ , आवर प्रदेश

आवर प्रदेश

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी गोरखाका केही स्थानलाई उडान निषेधित भनिएकोमा के कारणले त्यस्तो घोषणा गरिएको भन्ने अध्ययन गरी उडान सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको छेकम्पारमा आयोजित चुम साग्या महोत्सवको बुधबार उद्घाटन गर्दै उहाँले सरकार सो क्षेत्रका स्थानीयको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस क्षेत्रमा उडान गर्न नमिल्दा बिरामी र गर्भवतीको उपचारमा पनि समस्या रहेको स्थानीयले बताएका छन् । हालसम्म सडक यातायात नपुगेको मनास्लु संरक्षण क्षेत्रभित्र रहेको उक्त गाउँपालिकामा हवाई उडान निषेध गरिएकाले बिरामी घाइतेले अकालमा ज्यान गुमाउनुपरेको छ ।

हिमालपारिको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले त्यहाँका समस्या, अवसर र चुनौतीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले स्थानीयका महत्वपूर्ण समस्या सम्बोधन हुने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गर्ने बताउनुभयो ।

“चुमनुब्री गाउँपालिकालाई नेपाल सरकारले हवाई उडानका लागि निषेधित क्षेत्र तोकेकामा गर्भवती तथा सुत्केरी महिलाहरूको आपत्कालीन उद्धार तथा प्राकृतिक विपत्तिबाट समस्यामा परेका मानिसलाई निषेधित क्षेत्रका कारण उद्धार अभावमा ज्यानसमेत जाने गरेको अवस्थाबारे निमाजीले मलाई जानकारी गराउनुभएको छ,” उहाँले भन्नुभयो, “यसलाई किन निषेधित क्षेत्र घोषणा गरिएको हो भन्ने दस्तावेजलाई अध्ययन गरेर तपाईंहरूलाई परेको असुविधालाई सम्बोधन गर्ने मेरो गम्भीर पहल हुनेछ ।”

चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित रुइला नाका र ७ छेकम्पारमा तिब्बतसँग सिमाना जोडिएको इङ्ला नाका खुलाउन सरकारले आवश्यक पहल गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नाका खुलाउने कुरा धेरै पहिलेदेखि नै भए पनि अब छिट्टै टुङ्गोमा पु¥याउने विश्वास उहाँले दिलाउनुभयो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंलगायतको टोलीसहित हेलिकोप्टरबाट छेकम्पार पुग्नुभएका प्रधानमन्त्रीले विकट त्यस क्षेत्रको विकासप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

सिद्र्धिबास–बम्पुन–लोक्पा–चुम्चेत छेकम्पार मोटरबाटो निर्माणका लागि योजना आयोगसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेट्ने उहाँले जानकारी दिनुभयो । “विश्वको आठौँ अग्लो मनास्लु हिमाल रहेको यस पालिकाको मुख्य आयस्रोत नै पर्यटन व्यवसाय रहेकाले यस क्षेत्रमा दिगो पर्यटन पूर्वाधार निर्माणका लागि नेपाल सरकारका तर्फबाट सम्बोधन गरिनेछ,” उहाँले भन्नुभयो ।

‘चुम स्याग्या शताब्दी महोत्सव २०८०’ बुधबारबाट सुरु भएको हो। साबिकको चुम्चेत र छेकम्पार गाउँ विकास समिति रहेको उक्त क्षेत्र विसं १९७७ सालदेखि अहिंसा क्षेत्र घोषणा भएको थियो। २०७७ सालमा नै एक सय वर्ष पुगेका अवसरमा शताब्दी महोत्सव गर्ने तयारी गरेको भए पनि कोरोनाका कारण रोकिँदै आएको थियो। चुम उपत्यकाका मानिसले विसं १९७७ देखि भीरमौरीको महसमेत काड्न छाडेका थिए।

चुमलाई विश्वकै जैविक विविधता भएको एक मात्र खुला सङ्ग्रहालयसमेत मानिँदै आएको छ। यो क्षेत्रमा दुई सय प्रजातिको जडीबुटी पाइनुका साथै मानिस र पशुपन्छीबीच पारिवारिक सम्बन्ध रहेको स्थानका रूपमा परिचित छ। १९७७ सालमा तात्कालीन महागुरु करुणामय अवतारी पुज्य डुक्पा लामा सेराप दोर्जेले चुम उपत्यकावासीलाई अहिंसा सिद्धान्तको पालना गर्ने कुरामा सामूहिक प्रतिबद्वताका लागि सम्भोटा लिपिमा लिखित निर्णयमा सामूहिक हस्ताक्षर गराएर प्रतिबद्वता जनाएदेखि उक्त क्षेत्र विश्वमाझ अहिंसा क्षेत्रका रूपमा परिचित छ।

 

प्रकाशित मिति: २०२३-०४-२० , समय : ११:१६:०५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित