विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ
मिति: २०२३-०५-०३ , समय : १६:०६:११ , आवर प्रदेश
मिति: २०२३-०५-०३ , समय : १६:०६:११ , आवर प्रदेश
आवर प्रदेश
कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख १७ गते आइतबार शिक्षकले कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ गते साँझ प्रहरीमा निवेदन दिएका थिए ।
पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवैपक्ष बीचमा छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए ।
कुटपिटबाट बालकको निधारमा गहिरो चोट लागेको छ । वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा उनको टाउकोमा चोट लागेको पीडित पक्षको आरोप थियो ।
यस विषयमा मङ्गलबार दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो । शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्वीकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।
पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताए । घाइते बालकको बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार भएको थियो ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : १६:०६:११ , २ वर्ष अगाडि