साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको भीड
मिति: २०२३-०७-१७ , समय : १२:३८:२७ , ourpradesh
मिति: २०२३-०७-१७ , समय : १२:३८:२७ , ourpradesh
ourpradesh
सौरमासअनुसार साउनको पहिलो सोमवार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
साउने सोमवारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन शुरू गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।
उनका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमवारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमवारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।
पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत उचित व्यवस्था गरिएको कोषले जनाएको छ । ‘जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् । सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाएका छौँ,’ पराजुलीले भने । उनका अनुसार प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद, सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । महाशिवरात्रि र तीज पर्वमा जस्तै दर्शन तथा सुरक्षाको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
‘साउनको सोमवार सात हजार पाँच सयभन्दा कमको विशेष पूजा गराइएको छैन भने वासुकीनाथको मन्दिरमा तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइएको छैन,’ पराजुलीले भने । दुवै मन्दिरमा एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउने सोमवारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमवार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ ।
प्रकाशित मिति: २०२३-०७-१७ , समय : १२:३८:२७ , २ वर्ष अगाडि