ग्रीनल्याण्डका ८ विद्यार्थीले पाए एमबीबीएस पूर्ण छात्रबृत्ति
मिति: २०२३-१२-०९ , समय : १२:२७:५१ , Our Pradesh (सुलभ रिजाल)
मिति: २०२३-१२-०९ , समय : १२:२७:५१ , Our Pradesh (सुलभ रिजाल)
Our Pradesh (सुलभ रिजाल)
मोरङ, विराटनगरमा रहेको ग्रीनल्याण्ड कलेजमा अध्ययन गरेका आठ जना विद्यार्थीहरुले एमबीबीएसतर्फ पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।
कलेज परिसरमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरु शत्रुघन साह, अमित यादव, इसान सिंह यादव, रोहनकुमार प्रभाकर, सविना चौधरी, अनमोल झा, कृपा खड्का र आकृति बस्नेतलाई कलेजले सम्मान गरेको हो ।
उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कदरपत्रसहित सम्मान गरेका हुन् ।
मेयर कोइरालाले विराटनगर गुणस्तरीय शिक्षा प्राप्तिका लागि शैक्षिक गन्तव्य बन्दै गएको र विभिन्न प्रदेशबाट अध्ययनका लागि विराटनगर आउने विद्यार्थीहरुको संख्या बढेको बताए । विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरुले प्राप्त गरेको सफलताले विद्यालय तथा कलेजहरुको क्षमता समेत बढाएको बताए ।
एउटै शैक्षिक संस्थाबाट आठ जनाले एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्नु निकै महत्वपूर्ण उपलब्धि भएको उनले बताए । कलेज र विद्यार्थीहरुको मेहनतले अध्ययनका लागि नेपालबाट पैसा बिदेशिन रोकेको समेत उनले बताए ।
सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थी अमित यादवले कडा मेहनत र संघर्षबाट सफलता प्राप्त गरेको बताए । उनले आफ्नो सफलतामा कलेजका शिक्षकहरुले प्रदान गरेको शैक्षिक वातावरण समेत महत्वपूर्ण रहेको बताए । पढ्ने उद्देश्य राखेर कलेज पुग्ने जोसुकै विद्यार्थीहरुले पनि आफ्नो जीवनको महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
विद्यार्थी कृपा खड्काले विद्यार्थीहरुको चाहना बमोजिम कलेजको शिक्षण रहेकोले सफलता प्राप्त गर्न सहज भएको बताइन् । उनले पढ्न खोज्यो भने नतिजा निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको बताइन् ।
कलेजका सञ्चालक राजिव मिश्रले विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सम्मान गरिएको जानकारी दिए । साथै विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता प्राप्त गरेकोमा कलेज निकै खुशी भएको बताए ।
कार्यक्रमका अध्यक्ष एवं कजेजका सञ्चालक शिवनारायण यादवले कलेजले अझ राम्रो नजिताका लागि मेहनत गर्दै जाने प्रतिवद्धता जनाए । उनले देशकै उत्कृष्ठ कलेज बनाउन सङ्कल्प राख्नु भएको बताउनुभएको छ।
प्रकाशित मिति: २०२३-१२-०९ , समय : १२:२७:५१ , १ वर्ष अगाडि