भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदै
मिति: २०२४-०१-२२ , समय : ०८:३३:५२ , Our Pradesh
मिति: २०२४-०१-२२ , समय : ०८:३३:५२ , Our Pradesh
Our Pradesh
८ माघ २०८० नयाँ दिल्ली । भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राणप्रतिष्ठा हुँदैछ ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार भगवान रामको मूर्तिलाई १ सय १४ वटा घड़ाको औषधिय जल र विभिन्न तीर्थस्थलको पानीले स्नान गराइनेछ । सरयु नदीबाट शुरु भएको प्राणप्रतिष्ठाको विधि आज ‘अभिजित मुहूर्त’ मा समापन हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यकर्ता भएकाले उनले विशेष ‘अनुष्ठान’का लागि निराहर व्रत बसेर पूजा गर्नेछन् । राम मन्दिरको अभिषेक हुँदा दशकौंदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठूलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा राखिनेछ ।
बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । प्राणप्रतिष्ठा समारोहका लागि उद्योगपति, कलाकार, राजनीतिज्ञलगायत गरी ५ सय जनालाई आमन्त्रण गरेको जनाइएको छ ।
समारोहमा आउनेलाई महाप्रसाद वितरण गर्ने तयारी समेत गरिएको छ । यस अवसरमा पूरै अयोध्या शहलाई हजारौँ क्विन्टल फूलले र राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समारोहमा लागि कडा सुरक्षा व्यवस्था गरिएको छ । दश हजार सीसीटीभी क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित ड्रोनले त्यहाँका गतिविधिमाथि निगरानी राखेका छन् । विभिन्न ठाउँमा सादा पोशाकमा प्रहरी तैनाथ गरिएको छ ।
लामो संघर्षपछि हिन्दुहरुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् । अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो ।
सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो । सो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दिएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२२ , समय : ०८:३३:५२ , १ वर्ष अगाडि