विराटनगर को गोल्डेन अस्पताल आफ्नै भवनमा सञ्चालनमा
मिति: २०२४-०८-११ , समय : १६:४१:४६ , Our Pradesh
मिति: २०२४-०८-११ , समय : १६:४१:४६ , Our Pradesh
Our Pradesh
गोल्डेन अस्पताल आफ्नै भवनमा सञ्चालनमा
विराटनगर, ११ साउन: विराटनगरको गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै नयाँ भवनमा सञ्चालनमा आएको छ। यसअघि विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित कोशी अस्पताल अगाडिको भाडाको भवनमा सञ्चालन हुँदै आएको यो अस्पताल अब वडा नं. ११ स्थित महेन्द्र चौकको पश्चिमतर्फ निर्माण भएको ६ तल्ले सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरिएको हो। यो भवनको निर्माणमा ४८ करोड रुपैयाँ लागत लागेको छ।
गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक तथा बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले केही समयसम्म अस्पताल चौक र महेन्द्र चौक दुवै स्थानबाट बिरामीलाई सेवा दिने योजना रहेको जानकारी दिए। तर, निकट भविष्यमा अस्पताल चौकको सेवा बन्द गरी सम्पूर्ण सेवा महेन्द्र चौकको नयाँ भवनबाट प्रवाह गर्ने योजना रहेको उनले बताए।
गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले ३५ भन्दा बढी विशेषज्ञ चिकित्सकहरू कार्यरत रहेको अस्पतालमा सबै प्रकारका रोगहरूको उपचार सेवा उपलब्ध रहेको बताए। १५ बेडको ओपीडी सेवाबाट सुरु भएको यो अस्पतालले नयाँ भवनमा १०० बेडको मान्यता प्राप्त गरेको छ। महेन्द्र चौकको नयाँ भवनबाट निम्न आयस्तरदेखि सम्पन्न बिरामीहरूलाई एकै थलोबाट उपचार सेवा प्रदान गरिने मण्डलले जानकारी दिए।
कोशी प्रदेशका प्रदेश प्रमुख हिक्मतकुमार कार्कीले आइतबार नयाँ भवनको उद्घाटन गरे। उद्घाटन समारोहमा सबै राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, र विभिन्न स्वास्थ्य संस्थाका सञ्चालकहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२४-०८-११ , समय : १६:४१:४६ , ८ महिना अगाडि