विराटनगर राधाकृष्ण रथयात्रा: चोरीको आशंकामा ४० जनालाई अग्रिम पक्राउ
मिति: २०२४-०८-२६ , समय : २३:१२:५१ , Our Pradesh
मिति: २०२४-०८-२६ , समय : २३:१२:५१ , Our Pradesh
Our Pradesh
विराटनगर राधाकृष्ण रथयात्रा: चोरीको आशंकामा ४० जनालाई अग्रिम पक्राउ
विराटनगर, २६ भदौ। एशियाकै ठूलो धार्मिक समारोहमध्ये एक मानिने विराटनगरको राधाकृष्ण रथयात्रामा सम्भावित चोरी नियन्त्रण गर्न प्रहरीले ४० जनालाई अग्रिम पक्राउ गरेको छ।
मंगलबार हुने रथयात्राका क्रममा भिडमा गरगहना, पर्स, घडी, र मोबाइल जस्ता बहुमूल्य वस्तु चोरी हुन सक्ने सम्भावना देखेर प्रहरीले पहिल्यैदेखि शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार, विगतमा भएका चोरीका घटनामा संलग्न र शंकास्पद सूचीमा रहेका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउँदै नियन्त्रणमा राखिएको हो। पक्राउ परेकाहरूलाई रथयात्रा समापनपछि मात्र रिहा गरिनेछ। पक्राउ परेका केही व्यक्तिहरू फरार अपराधी हुन सक्ने भन्दै उनीहरूको कम्प्युटर रेकर्डमार्फत पुरानो विवरण पनि खोजिने जनाएको छ।
रथयात्राको सुरक्षामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरूको संयुक्त टोली परिचालन गरिएको छ भने, चोरी नियन्त्रणका लागि सादा पोशाकका सुरक्षाकर्मी पनि व्यापक रूपमा परिचालन गरिएको छ।
गत वर्षको रथयात्रामा ५६ जनालाई चोरीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको थियो, जसमा आधा भन्दा बढी भारतीय नागरिक रहेका थिए। प्रहरीले यस पटक पनि भारतीय नागरिकहरूमाथि विशेष निगरानी गरिरहेको छ।
रथयात्राको भिडमा सम्भावित चोरीका घटना बाहेक, महिलाहरू र युवतीहरूमाथि दुर्व्यवहार हुन सक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ। रथयात्रा मंगलबार अपरान्ह ३ बजेदेखि राति साढे ९ बजेसम्म चल्नेछ।
प्रकाशित मिति: २०२४-०८-२६ , समय : २३:१२:५१ , ८ महिना अगाडि