कानेपोखरीमा थारु समुदायद्वारा रैव पर्व भव्य रूपमा मनाइयो
यो पर्वमा थारु समुदायले नुन र तेल नखाने परम्परा छ। विशेष गरी दूध, दही, फलफूल, मिठाइ, र विभिन्न परिकारहरूको सेवन गरिन्छ। साथै, छोरी चेलीलाई माइत बोलाएर मिठो मसिनो खुवाई उपहार दिने परम्परा रहेको छ।
मिति: २०२४-०९-०८ , समय : २१:४२:११ ,
विद्यानन्द चौधरी
विद्यानन्द चौधरी
कानेपोखरी – कानेपोखरी गाउँपालिका – २ मा रहेको थारु कल्याण कारिणी सभाको सभाहलमा थारु समुदायले भदौ २३ गते आईतवार रैव पर्व भव्य रूपमा मनाएको छ।

यो पर्वमा थारु समुदायले नुन र तेल नखाने परम्परा छ। विशेष गरी दूध, दही, फलफूल, मिठाइ, र विभिन्न परिकारहरू को सेवन गरिन्छ। साथै, छोरी चेलीलाई माइत बोलाएर मिठो मसिनो खुवाई उपहार दिने परम्परा रहेको छ।

रैव पर्व पूर्वदेखि पश्चिमसम्म का थारुहरूले मनाउने गर्छन्। पूर्वी नेपालमा यसलाई रैव पर्व भनिन्छ भने पश्चिम र मध्य पश्चिममा अट्वारी पर्वको रूपमा मनाइन्छ। यो पर्व खेतीपाती सकिएपछि खेतमा भएका कीराफट्यांग्रा मरेकोमा क्षमा याचना गर्दै बालीनाली सप्रिने धार्मिक विश्वासका साथ मनाइन्छ।

उक्त कार्यक्रममा थारु कल्याण कारिणी सभाका उपसभापति दुखीलाल चौधरीको अध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। कानेपोखरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शुसिल बुढाथोकी प्रमुख अतिथि थिए। नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरीका सभापति खुल्लु राजवंशी विशिष्ट अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा थारु कल्याण कारिणी सभा केन्द्रिय पार्षद लछुमन चौधरी, रखीलाल चौधरी, हेमनारायण चौधरी, र मुहरुलाल चौधरी रहेका थिए। कार्यक्रम थारु कल्याण कारिणी सभाका सभापति विद्यानन्द चौधरीले सञ्चालन गरेका थिए।
प्रकाशित मिति: २०२४-०९-०८ , समय : २१:४२:११ , ७ महिना अगाडि