सहकारी ठगी प्रकरणमा एमाले सांसद ऋषिकेश पोख्रेलको नाम जोडियो, १२ करोड अनियमितता फेला

सहकारी संस्थामा १२ करोड रुपैयाँको ठगी प्रकरणमा संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलको नाम जोडिएको छ। श्रीमती कोइराला कालो सूचीमा।

मिति: २०२४-०९-१२ , समय : २३:४१:५७ , Our Pradesh

Our Pradesh

रङ्गेली (मोरङ्ग) – मोरङ्गको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा १२ करोड रुपैयाँको ठगी प्रकरणमा संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलको नाम जोडिएको छ। सहकारीमा सदस्यहरूको सम्पत्ति बैंकमा धितो राखेर ठगी गरिएको खुलासा भएको हो।

सहकारीले करिब १८ करोड ५१ लाख रुपैयाँ कूल पुँजी रहेकोमा १२ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ। सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले सदस्यहरूको सम्पत्ति धितो राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण लिएका थिए। सहकारीले सदस्यहरूको ऋण बैंकमा बुझाउनुपर्ने रकम नबुझाई मनोमानी गरेको देखिएको छ।

सांसद पोख्रेलको नाम जोडिएको यो सहकारीमा उनकी श्रीमती अञ्जला कोइराला पनि संचालक सदस्यको रूपमा आबद्ध थिइन्। उनी अहिले सहकारीका कारण कालो सूचीमा परेको बताइन्छ। कोइरालाले आफूलाई नबुझी सहकारीमा जोडिएको र नक्कली हस्ताक्षर प्रयोग भएको दाबी गरेकी छिन्।

स्रोतका अनुसार सांसद पोख्रेलको सहकारी सञ्चालनमा प्रत्यक्ष भूमिका रहेको र सहकारीको कारोबारमा रौनियारसँग मिलेमतो भएको थियो। तर, सहकारी डुबेपछि उनीहरूको सम्बन्धमा खटपट आएको छ।

अध्यक्ष रौनियार अहिले सम्पर्कविहीन छन् भने सहकारीको कार्यालयमा ताला लागेको छ। बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन नसकेपछि न्यायका लागि प्रदेश सहकारी रजिष्ट्रार कार्यालय पुगेका छन्। सहकारीको कागजातसमेत गायब भएको पाइएको छ, जसले ठगीको शंका थप गहिरिएको छ।

सांसद पोख्रेलले भने आफू पनि ठगिएको बताउँदै रौनियारविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। उनले आफूलाई इमान्दार भएर पनि अन्य व्यक्तिहरूले ठगेको गुनासो गरेका छन्।

सहकारीका अध्यक्ष रौनियारले भने समस्या समाधानको प्रयास भइरहेको बताएका पनि बचतकर्त र जग्गा धित्तो राख्ने सदस्यहरू भने अन्योलमा परेको छ।

प्रकाशित मिति: २०२४-०९-१२ , समय : २३:४१:५७ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्