उर्लाबारी नगरपालिकासहित ९ वटै वडा कार्यालय बन्द

मिति: २०२३-०३-२९ , समय : १५:१२:३८ , आवर प्रदेश

आवर प्रदेश

सुमन घिमिरे
उर्लाबारी। कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबार तालाबन्दी गरेपछि उर्लाबारी नगरपालिका र ९ वटै वडा कार्यालय ठप्प भएका छन् । संघर्ष समितिका कार्यकर्ताहरुले उर्लाबारी नगरपालिकाको गेटमा तालाबन्दी र ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिट हुनुका साथै ७ का वडाध्यक्ष उर्मिला थापा र कर्मचारी हेमराज कोईरालामाथि दुरव्यवहार समेत भएको थियो ।

प्रशासनले सुरक्षाको व्यवस्था नगरेको र आन्दोलनकर्ताले तालाबन्दी गरेकाले वडाबाट सेवा दिन नसकिएको उर्लाबारी ५ का वडाध्यक्ष रविन लामाले बताउनुभयो । आन्दोलनकर्ताले वडा कार्यालयमै ताला लगाएर लगाएको र मंगलबार वडाध्यक्ष माथि नै कुटपिट भएकाले सुरक्षाका कारण पनि सेवा दिन नसकिएको उर्लाबारी १ का वडाध्यक्ष तिलक पाण्डेले बताउनुभयो ।

उर्लाबारी नगरपालिकाको भित्रि गेटमा आन्दोलनकारीले ताला लगाएपछि सेवा प्रभावित भएको छ । कर्मचारीहरुले नगरपालिका भित्रको शान्ति सुरक्षाको उचित व्यवस्था गरि जनताको सेवामा खटिएका कर्मचारीहरुलाई दैनिक सेवा संचालन गर्ने वातावरणको सुनिश्चितताको माग गरेका छन् । तालाबन्दी गरिएको र सेवा प्रवाह गर्न शान्ति सुरक्षाको व्यवस्थापन नभएकाले वडा कार्यालय बन्द रहेको वडाध्यक्षहरुले बताउनुभएको छ ।

आफु वडा कार्यलय नजिकै रहेको तर शान्ति सुरक्षाका कारण सेवा दिन नसकिएको उर्लाबारी ४ का वडाध्यक्ष कल्याण राईले बताउनुभएको छ । मंगलबार अपरान्ह बसेको उर्लाबारी नगर कार्यपालिकासहितको बैठकले जनताको प्रतिनिधिमाथि भएको कुटपिटको घटनाले आतंकित बनाएको भन्दै प्रशासनसँग सुरक्षाको माग गरेको छ

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १५:१२:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित