“स्थानीय खेलाडीलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण”: वसिम आलमको विराटनगर किंग्सलाई आलोचना

मिति: २०२४-११-२१ , समय : ०५:५६:४० , Our Pradesh

Our Pradesh

विराटनगर किंग्सको खेलाडी चयनमा विवाद: कोशी प्रदेशका खेलाडीको बेवास्ताले आलोचना

 

कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित कार्यक्रमले टिम विराटनगर किंग्सको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, मेयर, पूर्व मेयर तथा अन्य नेताहरूको उपस्थिति थियो। तर, कार्यक्रमको भव्यताभन्दा पनि स्थानीय खेलाडीलाई टिममा स्थान नदिएको विषयले चर्चा पाएको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले कार्यक्रमकै क्रममा विराटनगर किंग्स र प्रदेश सरकारलाई कडा आलोचना गर्दै, प्रदेशकै खेलाडीलाई बेवास्ता गर्नु खेलकुद क्षेत्रका लागि ठूलो धक्का भएको बताए। “यु-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका दिपेश कंडेल र राष्ट्रिय स्तरमा सक्रिय ललित राजवंशीजस्ता खेलाडीलाई अक्सनमा बोलिसम्म नलगाउनु दुःखद छ। प्रदेश सरकारले खेलाडी उत्पादनमा कति लगानी गरेको छ भन्ने सोच्नुपर्छ,” आलमले टिप्पणी गरे।

 

 

आलमले प्रदेशका नेताहरूले खेलकुद विकासमा आफ्नो भूमिका सम्झनुपर्ने र लाज मान्नुपर्ने अवस्था आएको बताएका छन्। साथै, विराटनगर किंग्सका मालिकहरूलाई केवल व्यापारमा मात्र ध्यान नदिइ, स्थानीय खेलाडीको प्रवर्धनमा पनि योगदान दिन आग्रह गरे।

 

सामाजिक सञ्जालमा आलोचना र समर्थन गुम्ने खतरा

 

विराटनगर किंग्सले कोशी प्रदेशको प्रतिनिधित्व गरे पनि स्थानीय खेलाडीलाई समेट्न नसकेको विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। खेलप्रेमीहरूले टिम व्यवस्थापनलाई प्रतिभाशाली स्थानीय खेलाडीलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

 

औपचारिक प्रतिक्रिया आउन बाँकी

 

विराटनगर किंग्सका मालिकहरू यस विषयमा औपचारिक रूपमा बोलेका छैनन्। तर, आलोचकहरूले स्थानीय खेलाडीलाई समेट्न नसक्नुले टिमले स्थानीय स्तरमा समर्थन गुम्ने खतरा औंल्याएका छन्।

 

आलमले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “म यसपटक शुभकामना दिन सकिनँ। आशा छ, भविष्यमा विराटनगर किंग्सले स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेर नयाँ उदाहरण प्रस्तुत गर्नेछ।”

यस विवादले खेलकुद क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफलको थालनी गरेको छ। अब टिम व्यवस्थापनले यस विषयमा कस्तो कदम चाल्नेछ भन्नेमा सबैको ध्यान केन्द्रित छ।

विभिन्न मिडियाले कोशी प्रदेशका खेलाडीलाई टिममा समावेश गराउनुपर्ने माग निरन्तर उठाउँदै आएका छन।

 

प्रकाशित मिति: २०२४-११-२१ , समय : ०५:५६:४० , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित