रंगेलीमा स्रोत नखुलेको ४७ लाख ४९ हजार नगद बरामद

मिति: २०२४-१२-११ , समय : ००:१३:०९ , पारस मण्डल

पारस मण्डल

मोरङको रंगेली नगरपालिका–८, दर्वेसास्थित एउटा घरबाट प्रहरीले मंगलबार दिउँसो स्रोत नखुलेको ठूलो रकम बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले ज्योतिदेवी अग्रवालको घरमा ४७ लाख ४९ हजार नगद फेला पारेको हो।

प्रहरीका अनुसार, दिउँसो ३ बजे अग्रवालको एकतले घरको दक्षिणपट्टिको कोठामा चाबी लगाएर राखिएको पुरानो टिनको बाकसभित्र लुकाइएको अवस्थामा १ हजार र ५ सय दरका नोट फेला परेका हुन्।

 

घटना रामकुमार रिजाल नामका व्यक्तिले प्रहरीसँग सहयोग मागेपछि खुलेको हो। रिजालले मंगलबार बिहान करिब ११ बजे बैंकबाट ७ लाख १० हजार लिएर फर्किंदै गर्दा मोटरसाइकलको लेग गार्डबाट रकम खसेको र हराएको जानकारी गराएका थिए। उक्त घटनापछि प्रहरीले अनुसन्धान गर्दै अग्रवालको घरमा खोजतलास गरेको थियो।

घरधनी अग्रवाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। बरामद रकमको स्रोत नखुलेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

उक्त घटनाले स्रोत नखुलेको रकमका विषयमा प्रहरीको चनाखो भूमिका र प्रभावकारी कदमलाई उजागर गरेको छ। स्थानीयमा यो घटनाले चासो

बढाएको छ।

 

प्रकाशित मिति: २०२४-१२-११ , समय : ००:१३:०९ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित