मोरङ सहकारी घोटाला: सांसद ऋषिकेश पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
मिति: २०२४-१२-१३ , समय : १५:५५:२० , Our Pradesh
मिति: २०२४-१२-१३ , समय : १५:५५:२० , Our Pradesh
Our Pradesh
मोरङ सहकारी घोटाला: सांसदकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
२८ माघ, विराटनगर
मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारीमा भएको ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत मोरङमा सहकारी ऐन २०७४ को दफा १२२ अन्तर्गत उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। मुद्दामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, लेखा समिति संयोजक विजयकुमार यादवसहितका पदाधिकारी प्रतिवादी छन्।
प्रतिवेदनअनुसार सांसद पोखरेलको सल्लाहमा अध्यक्ष रौनियारले सहकारी सञ्चालन गर्दै आएका थिए। तर, पोखरेलले पत्नी अञ्जला कोइरालालाई योजनाबद्ध रूपमा फसाइएको दाबी गरेका छन्। शिक्षण पेशामा आबद्ध कोइरालाले सहकारीको कामबारे जानकारी नराखेको पोखरेल पक्षले बताएको छ।
सहकारीले सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेको आरोपमा करिब डेढ वर्षदेखि कार्यालय बन्द छ। अनुसन्धानमा असहयोग भएपछि गत कात्तिक १४ गते प्रहरीले सहकारीको कार्यालयको ताला फोडी कागजात जफत गरेको थियो।
अर्थिक विवरणअनुसार सहकारीले विभिन्न वित्तीय संस्थाबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण लिएको छ। सहकारीको वासलात विवरणमा १८ करोड ४० लाख रुपैयाँ पुँजी रहेको देखाइए पनि १७ करोड ८७ लाख रुपैयाँ कर्जा तथा सापट लगानी गरिएकामा गम्भीर प्रश्न उठेको छ।
यो प्रकरणले सहकारी संस्थामा हुने अनियमितता र सर्वसाधारणको विश्वासको दुरुपयोगप्रति गम्भीर चासोको विषय बनाएको छ। कानुनी कारबाहीले ठगीको वास्तविकता र दोषीहरूको भूमिका प्रस्ट्याउने अपेक्षा
गरिएको छ।
प्रकाशित मिति: २०२४-१२-१३ , समय : १५:५५:२० , ४ महिना अगाडि